काठमाडौं । राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरूले सहमति खोज्ने गरी दौडधुप तीव्र बनाएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का नेताहरुसँगको भेट लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । अहिले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भइरहेको छ ।
राष्ट्रपति निर्वाचनमा कांग्रेसले दिने उम्मेदवारीमा सघाउन औपचारिक आग्रह गरेपछि देउवाले प्रधानमन्त्रीलाई दोस्रोपटक भेट्दै छन् । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ मा उम्मेदवारी दर्ता हुँदैछ ।
त्यसअघि नै कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफूले उठाउने उम्मेदवारका लागि सहमति जुटाउन प्रयास गरिरहेको छ । बालुवाटार जानुअघि देउवानिवास धुम्बाराहीमा कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताबीच छलफल भएको थियो ।
छलफलमा कांग्रेसबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत थिए । यस्तै, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपालसहित महासचिव बेदुराम भुसाल, घनश्याम भुसाललगायत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया