काठमाडौं । गत मंसिर २९ गतेबाट सुरु भएको नेकपा स्थायी समिति बैठक अध्यक्षद्वयको व्यस्तताको कारण देखाउदै तीन दिनका लागि रोकिएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले जवाफ दिएपछि आइतबार नै सकिने भनिएको स्थायी समितिको अपरान्हको बैठक बस्दै नबसी स्थगित भएको हो ।
प्रधानमन्त्री तथा अध्यक्ष ओली विना बैठकको अध्यक्षता गरेका अध्यक्ष प्रचण्डले आज आफू राजधानी बाहिर जानु पर्ने भएको भन्दै बैठक ३ दिनका लागि बैठक स्थगित गरे ।
अध्यक्ष प्रचण्ड आज र भोलि (मंगलबार) गृह जिल्ला चितवनका विभिन्न कार्यक्रम सहभागि हुने तय भएको छ भने प्रधानमन्त्री ओली सरकारी काममा दुई दिन व्यस्त रहनुपर्ने भएकाले बैठक स्थगित भएको नेताहरूले बताएका छन् ।
उसो त स्थायी समिति बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले पार्टी नेतृत्वको चर्काे आलोजना गरेका थिए । बामदेव गौतम, भीम रावल, घनश्याम भुसाल लगायतको नेताहरुले अध्यक्षद्वय कार्य शैलीप्रति आपत्ति जनाए ।
यस्तै बैठक तीन रोकिनुको कारण अध्यक्षद्वयको व्यस्तता मात्र नभएर राजनीतिक प्रतिवेदनमा सहमति खोज्नु पनि हो । राजनीतिक प्रतिवेदनमा शीर्ष नेताहरुको मत बाझिएपछि सहमतिको बाटो खोज्न बैठक सारिएको नेताहरु स्वीकार्छन् ।
सचिवालयका नेताहरूमध्ये राजनीतिक प्रतिवेदनमा अध्यक्षद्वय ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेल एउटा कित्तामा उभिएका छन् भने वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्य वामदेव गौतम अर्को कित्तामा उभिएका छन् ।
योबीचमा अध्यक्षसहित शीर्ष नेताहरूले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि सहमतिका लागि गृहकार्य गर्ने स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले बताए । उनका अनुसार अध्यक्षद्वयको व्यस्तताका कारण बैठक पर सारिए पनि मूल रूपमा यसबीचमा सहमतिकै लागि गृहकार्य हुनेछ ।
नेताहरुबीचको छलफलपछि स्थायी समिति बैठक पुस ११ गते पुनः बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया