माधव नेपाललाई प्रधानमन्त्री बनाउन तयार भए कांग्रेसको उम्मेदवार राष्ट्रपति (अन्तर्वार्ता)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफ्नो पार्टीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउन तयार भए नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने प्रष्ट गरेका छन् ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिका लागि कुरा गर्दै चौधरीले अध्यक्ष नेपाललाई एमाले अध्यक्ष केपी ओलीले सही नियतका साथ राष्ट्रपतिमा प्रस्ताव नगरेको पनि बताए । अध्यक्ष नेपालकाे चाहना पनि राष्ट्रपति भन्दा कार्यकारी भूमिका पट्टी रहेकाे छ ।

ओली जसरी हुन्छ पुरानो पाँचदलीय गठबन्धन नब्युँतियोस् भन्ने चाहन्छन्, त्यसैले उनले माधव नेपालको नाम बजारमा हल्लाका लागि मिल्काएका हुन्, चौधरीले भने । ‘यदि सही नियतका साथ हुन्थ्यो भने त प्रधानमन्त्रीलाई नाम दिँदा नेपाल एक जनाको मात्रै दिइहाल्थे नि ! चौधरीले भने ‘किन अरुको नाममा घुसाएर दिनुपर्यो ?’

हाम्रो चाहना पुरानै गठबन्धन ब्युँताउने नै हो भन्दै चौधरीले भने ‘आउने १३ गतेभित्र पुरानै गठबन्धन ब्युँताइन्छ र राज्यसत्ता कब्जा गर्ने ओलीको चाहनामा रोक लगाइन्छ ।’ तर, यो सबैका लागि नेकपा एस अरुलाई भोट हाल्ने मतदाताका हैसियतमा मात्र सीमित रहन चाहन्न । हाम्रो योगदानको पनि मूल्यांकन हुनपर्छ, उनले भने ।

त्यो भनेको के ? माधव नेपाललाई यहि संसदको कार्यकालमा प्रधानमन्त्री बनाउने प्रतिवद्धता खोजेको हो ? भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘हो । कुनै न कुनै हिसाबले उहाँलाई प्रधानमन्त्री बनाउने प्रतिवद्धता चाहिन्छ । त्यसो हुँदा संसदको ठूलो दल कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नेछन् ।’

फागुन १३ गतेपछि एमाले नेतृत्वको गठबन्धन नरहने दाबी गर्दै दाङबाट सांसदसमेत रहेका चौधरीले भने ‘तत्कालका लागि एमालेसँग पार्टी एकता हुने कुनै सम्भावना छैन ।’

‘एमाले अध्यक्ष ओलीलाई न त अहिलेको परिवर्तन चाहिएको छ, न वर्तमान संविधान नै । उनी त सबै भताभुंग बनाउन चाहन्छन् । एकीकृत कम्युनिष्ट आन्दोलन उनको चाहना नै होइन । हुन्थ्यो भने आफ्नै पार्टी सरकारमा छ, त्यही सरकारविरुद्ध संसदमा बोल्छन् ?,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?