काठमाडौं । राष्ट्रपति निर्वाचनबारे राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाट तथा छलफललाई तीव्र बनाएका छन् । निर्वाचनको मिति नजिकिएसँगै भावी राष्ट्रपतिबारे दलहरुले सघन छलफल बढाएका हुन् ।
राष्ट्रपतिका लागि विभिन्न पात्रहरूको चर्चा भइरहेका बेला सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचकाे पटकपटक भेटवार्ता बाक्लिएको छ ।
बुधबार दुई घण्टा भन्दाबढी समय भएको भेटवार्ताका क्रममा राष्ट्रपतिकाे सर्वस्वीकार्य उम्मेदवार बनाउने विषयमा छलफल केन्द्रित भएको बुझिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच सबैले स्वीकार्ने गरी राष्ट्रपतिको उम्मेदवारलाई छनोट गर्नुपर्नेमा सहमत भएको बताइएको छ ।
प्रचण्डसँगको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वा एमाले नेता सुवास नेम्वाङलाई अघि सार्दा सबैले स्वीकार गर्ने धारणा राखेका थिए । त्यस क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई नेपाल वा नेम्वाङमध्ये एक जनालाई अघि सार्दा सहज हुने बताएका थिए ।
अध्यक्ष ओलीले नेता नेपालको नाम लिएपछि प्रचण्डले अन्य दलसँग पनि आफूले छलफल गर्ने बताएको स्रोतले बतायो । सकभर राष्ट्रिय सहमति जुटे धेरै राम्रो सन्देश जाने प्रचणडको भनाई थियो ।
यता, नेकपा (एकीकृत समाजवादी) को बुधबार बसेको बैठकले राष्ट्रपतिका लागि प्रस्ताव आए स्वीकार्ने निर्णय गरेको छ । राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसदमा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया