राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाता

लोकपथ
52
Shares

काठमाडौं । आसन्न राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनका लागि जम्मा ८८१ जना मतदाता रहेका छन् । संघीय संसद र प्रदेश सभा गरी ८८४ सदस्यको मताधिकार रहने भए पनि तीन सदस्य रिक्त रहँदा ८८१ जनाले मात्र मत दिन पाउने भएका हुन् ।

प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरु मतदाता रहने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभाका तीन जना सांसदले भने मत दिन नपाउने भएका छन् । निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरले राष्ट्रपति निर्वाचनका लागि बुधबार नामावली सार्वजनिक गरेको हो ।

संघीय संसदका ३३४ सांसदमध्ये चितवन–२ रिक्त रहेको छ । त्यस्तै निलम्बित सांसद टेकबहादुर गुरुङले मतदान गर्न नपाउने भएपछि मतदाता नामावलीमा नाम समावेश छैन । गुरूङ भ्रष्टाचारको अभियोगमा निलम्बित छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश छैन ।

प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । विद्यमान कानुनअनुसार संघीय संसद्का प्रतिसदस्यको ७९ मतभारका दरले २६ हजार चार सय र प्रदेशसभा सदस्यको प्रतिसदस्य ४८ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुनेछ ।

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते गर्ने गरी मिति तय गरिसकेको छ । निर्वाचनका लागि यही फागुन ८ गतेदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिएको छ ।

निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिएको छ । फागुन १३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।

उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ देखि अपराह्न २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?