काठमाडौं । नयाँ राष्ट्रपतिको निर्वाचन आउन अब सत्र दिन मात्र बाँकी छ । सत्रौं दिन त मुलुकले नयाँ राष्ट्रपति नै पाउने छ । तर, राष्ट्रपति को बन्ला भन्ने थाहा पाउनचाहिँ अब धेरै दिन कुर्नुपर्ने देखिन्न ।
अर्थात्, राष्ट्रपतिको निर्वाचनको मनोनयन यही फागुनको १३ गते कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । त्यसैले अबको पाँच दिनमा हुने मनोनयनले नै को राष्ट्रपति बन्छ भन्ने एउटा चित्र प्रष्ट गर्नेछ ।
तर, जति जति राष्ट्रपति निर्वाचन मनोनयनको दिन नजिकिँदो छ, उतिउति सत्ता राजनीतिको समीकरणमा नयाँ नयाँ खेलहरु देखिँदैछ । चुनाव अगाडीको कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनले सत्ता चलाइरहेको बर्तमानमा राष्ट्रपति को हुने भन्नेमा सत्ताधारी दलहरुबीच नै मनमुटाव देखिएको छ ।
मूलतः गठबन्धनको नेतृत्वकर्ता नेकपा एमाले र सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीबीच राष्ट्रपति को हुने भन्नेमा एकमत नहुँदा नयाँ परिस्थिति देखिन थालेको हो । प्रचण्डलाई प्रधानमन्त्री स्वीकारेर आफू अनुकूलको व्यक्ति राष्ट्रपति बनाउने दाउमा रहेका एमाले अध्यक्ष ओलीलाई माओवादीहरुको नयाँ अड्कोले सताएको छ ।
प्रचण्डसहितका माओवादी नेताहरु एमाले उम्मेदवारलाई राष्ट्रपति बनाउन नसकिने बताइरहेका छन् । त्यसको विकल्पमा राष्ट्रपति हुने व्यक्तिमा राष्ट्रिय सहमति बन्नुपर्ने उनीहरुको एकसूत्रीय रटान छ । गठबन्धन बाहिर रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेस प्रचण्डसँग राष्ट्रपतिलागि हारगुहार गरिरहेको छ । प्रचण्डले एमालेलाई राष्ट्रपति स्वीकार्न नसक्ने संकेत गरेपछि हौसिएका कांग्रेसी नेताहरुले आइतबार त प्रचण्डसहित माओवादी नेताहरुसँग राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई सघाउन झोली नै फैलाएका छन् ।
सोही बैठकमा भित्र भित्र अर्कै खिंचडी पाकिसकेको संकेत गर्दै प्रचण्डले ‘कांग्रेसलाई राष्ट्रपति दिन आफूलाई समस्या नभएको तर एमाले अध्यक्ष ओलीले माधव नेपाललाई प्रस्ताव गरे भने के गर्ने ?’ भन्ने प्रश्न कांग्रेसी नेताहरुसमक्ष फालिदिएका छन् । त्यसमा लागि कांग्रेस नेताहरुले नेकपा एसका अध्यक्ष नेपालसँग छलफल गर्ने सहमति बनेको छ । त्यसपछि कांग्रेस, माओवादी र नेकपा एसबीच छलफल गर्ने भनिएको छ ।
तर, विश्वस्त स्रोत भन्छ, ‘एमाले अध्यक्ष ओली जसरी पनि वर्तमान समीकरण टुट्न नदिने र सत्तामा कांग्रेसलाई उक्कन नदिन दृढ छन् । त्यसका लागि उनले जस्तोसुकै निर्णय पनि लिनेछन् । त्यसैका लागि उनले आफ्नो सन्देश लिएर दोस्रा तहका नेताहरुलाई नेपालसँग वार्तामा खटाएका छन् ।’
उता, नेकपा एसमा पनि राष्ट्रपति नै बन्ने अवस्था आएमा अन्यथा नसोची ओलीको प्रस्ताव स्वीकार्नुपर्ने पक्षमा नेताहरु देखिएका छन् । माधव नेपालले मुख नखोले पनि दोस्रो तहका नेताहरु यो सहमति भएमा राष्ट्रपतिको निर्वाचनपछि दीर्घकालीन रुपमा पार्टी एकताका लागि पनि माहौंल बन्ने बताउँछन् ।
नेपाललाई राष्ट्रपति बनाउन भइरहेको भित्री खेलहरुबारे एमाले नेता शेरबहादुर तामाङले भने, ‘स्वाभाविक छ, एमाले वर्तमान गठबन्धन जोगाउन जस्तोसुकै त्याग पनि गर्न तयार छ । राष्ट्रपति पदको लाभहानी भन्दा पनि देशको लाभहानी हामीले हेरिरहेका छौं । कांग्रेस नेतृत्वको गठबन्धन विफल भएरै यो समीकरण बनेको हो । फेरि त्यो बाटोमा मुलुकलाई फर्काएर अस्थिरता हुनेतर्फ हामी जान दिँदैनौं ।’
त्यसो भए नेपाललाई राष्ट्रपति स्वीकारिने नै भयो त ? भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘कुन आश्चर्य भयो र उनलाई स्वीकार्न ? नीति, सिद्धान्त र विचारको मनमुटावले पार्टी फुटेको भए पो । नेताहरुको अहंकार र इगोले एक ठाउँमा हुन नसकेको न हो । त्यसैले हामी इमान्दारपूर्वक प्रयासमा छौं । बाँकी त उहाँहरु के सोच्नु हुन्छ ? हेरौं ।’
‘हाम्रो चाहना र अधिकतम प्रयास यो गठबन्धन र सरकारलाई पाँचै वर्ष टिकाउने भन्ने हो । समझदारी अनुसार त प्रचण्डले राष्ट्रपतिमा एमालेलाई नै स्वीकार्नुपर्दथ्यो । तर स्वीकार्न नसक्ने भनाइ उहाँहरुबाट आएपछि हामी पनि यो समीकरण जोगाउन जुनसुकै पात्रलाई अगाडी ल्याउन तयार भएका हौं,’ तामाङले भने ।
‘यसपटक पुस १० मा सरकार बनाउने बेलाभन्दा घनिभूत र विश्वासको वातावरणमा नेताहरुबीच छलफल भइरहेकाले मलाई लाग्छ माधव नेपालले सहमतिमा आउनुहुन्छ होला,’ तामाङले भने ।
नेकपा एसका नेता मेटमणि चौधरीले पनि यस पटक अघिल्ला पटकहरुमा भन्दा अलिक विश्वासिलो वातावरणमा कुराकानी भइरहेको बताउँदै भने, ‘एमाले अध्यक्ष ओलीले अलिक विश्वास लाग्ने गरी नेताहरु पठाउनु भएको छ । हाम्रा अध्यक्ष माधव नेपालसँग केही चरणमा छलफल भएका छन् । तर, उहाँले के गर्ने भनेर मुख खोलिसक्नु भएको छैन ।’
‘ओलीको बोलीमा विश्वास गर्ने आधार त छैन । जसरी हुन्छ पुरानो गठबन्धन नब्युतियोस् भन्ने चाहना ओलीको होला । तर, राष्ट्रपति बनाउने नै गरी प्रस्ताव आयो भने नाईं भन्ने पनि हामीलाई गाह्रो हुन्छ,’ चौधरीले थप्छन्, ‘यस पटक ओलीले मनदेखि नै पठाएका हुन् कि जस्तो पनि देखिन्छ ।’
नेपाललाई मनाउने मध्यमार्गी मानिएका नेताहरुका अतिरिक्त युवा नेता गोकुल बाँस्कोटा र महेश वस्नेत पनि जुटेका छन् ।
के त त्यसो हो भने एमाले अध्यक्ष ओलीले भनेझै, ‘कांग्रेसको ढोक्सा रित्तो’ नै रहने हो त ? भन्ने लोकपथको प्रश्नमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘माधव नेपालले चाहना व्यक्त गरेका त होलान् । त्योस्तरसम्मको कुारकानी त भएको छैन । हामीले कांग्रेसको उम्मेदवार बाहेक अरु हुने विषयमा सोचेका छैनौं । परिस्थिति कसरी विकास हुन्छ, त्यसै अनुसार पार्टीले कदम चाल्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया