कांग्रेस नेताहरुलाई प्रचण्डले भने ‘राष्ट्रपतिबारे पार्टीमा छलफल गरेर निर्णय दिन्छु’

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

आइतबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु र प्रधानमन्त्री प्रचण्डबीच करीब दुई घण्टा भेटवार्ता भएको थियो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए । भेटवार्ताका क्रममा कांग्रेस नेताहरुले कांग्रेसलाई राष्ट्रपतिको निर्वाचनका सहयोग गर्न आग्रह गरेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा रहेकाले त्यसबारे पार्टीमा औपचारिक छलफल गरेर निर्णय दिने बताएका थिए । भेटवार्ताका क्रममा छलफल सकारात्मक रुपले अघि बढेको कांग्रेसका एक नेताले जानकारी दिए । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

त्यसअघि नै नेताहरुले तीव्र भेटघाट र छलफल बढाएका छन् । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि पुरानै गठबन्धन ब्युताउँने दाउमा कांग्रेस छ । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिको निर्वाचनसँगै सहकार्य अघि बढाउन चाहेको छ ।

त्यसबारे यसअघि नेताहरुबीच एक्लाएक्लै भेटघाट र छलफल भइसकेको छ । कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड अहिले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेका छन् । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी केन्द्रले सोमबार अपरान्ह पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?