प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस शीर्ष नेताहरु बालुवाटारमा

लोकपथ
143
Shares

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् ।

आइतबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका पार्टीका शीर्ष नेताहरुका बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रले सोमबार राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको अघिल्लो दिन उनीहरु भेटवार्ता गर्न पुगेका हुन् । बैठक बस्नुअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसका नेताहरुले पुरानै गठबन्धन ब्युँतिने दाबी गर्दै आएका छन् । पछिल्ला दिनमा माओवादी केन्द्रका नेताहरुलेसमेत राष्ट्रपतिको उम्मेदवार राष्ट्रिय सहमतिमा हुनुपर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुटाउन सर्वदलीय बैठक बोलाउने पनि तयारी गरेका छन् । राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?