रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकी आरोप

लोकपथ
13
Shares

एजेन्सी । रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध अपराध गर्नेलाई दण्ड दिनुपर्नेमा जोड दिइन् ।

उपराष्ट्रपति ह्यारिसले अन्तर्राष्ट्रिय कानुन कमजोर भएमा अन्य अधिनायकवादी सरकारहरूले फाइदा उठाउने जोखिम बढ्छ भन्दै अन्तर्राष्ट्रिय समुदायले त्यस्ता अपराधविरुद्ध कारबाही हुनुपर्ने आवश्यकता औँल्याएका बताइन् । रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उनले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरिन् ।

वाइडेन प्रशासनले गत मार्चमा औपचारिक रूपमा रुसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको र अपराधीहरूलाई आफ्ना सहयोगीसँग मिलेर कारबाही गर्ने बताएको थियो ।

रुसले युक्रेनमा मानवताविरुद्धको अपराध व्यवस्थित रूपमा गरिरहेका दृष्टान्त प्रस्तुत गर्दै उपराष्ट्रपति ह्यारिसले रुसी अधिकारीहरूले युक्रेनबाट बालबालिकासहित हजारौँ मानिसलाई जबरजस्ती निर्वासित गरेका बताइन् । उनले बालबालिकाहरूलाई निर्ममतापूर्वक परिवारबाट अलग गराइएको उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?