सत्ताधारी गठबन्धन कुन दिन भत्किने हो, ठेगान छैन : माधव नेपाल

लोकपथ
65
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठबन्धन कुनै पनि दिनमा भत्किन सक्ने दाबी गरेका छन् । पार्टी निकट भातृ संगठन अनेरास्ववियूको कीर्तिपुरमा आयोजित स्थायी कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएको बताउँदै उनले अबको एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने बताए । अध्यक्ष नेपालले गठबन्धनमा संविधानविरोधी पक्षपातीसम्म सबै खाले शक्तिहरू रहेको भन्दै लामो समय नटिक्ने नेपाललको तर्क छ ।

‘कुन दिन त्यो गठबन्धन भत्किने हो? ठेगान छैन । त्यो गठबन्धनको सरकार भत्केपछि अनि कांग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता शुरु भइसकेको छ । ढोक्सा थाप्ने भनेको त्यही हो,’ नेपालले भने, ‘त्यताबाट आएपछि यता जोगाउँछन कि भनेको यही हो । त्यसो हुनाले मुलुकको राजनीतिले कुन कोर्स लिने हो ? राष्ट्रपतिको चुनावबाट थाहा भईहाल्छ ।’

उनले गठबन्धनमा राजतन्त्रलाई फेरी ल्याउनुपर्छ भन्ने प्रतिगामी र संघीयता विरोधी पनि रहेको बताए । उनले कांग्रेसले सबै पद आफैंले लिनुपर्ने भन्ने प्रवृत्ति देखाउँदा तत्कालीन गठबन्धन भत्किएको जिकिर गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय नै चाहिन्छ भनेर हैरान पारेपछि गठबन्धन संकटमा परेको दाबी गरेका छन् ।

‘नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले,’ उनले भने, ‘पहिले त केके न गर्ला भन्ने लागेको थियो । नयाँ आए तर घाँडो भए । अदालतले मुद्दा लगायो । पदबाट हटे । त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ ।’

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठक जारी छ ।

बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?