काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले अघि सारेको उम्मेदवारले राष्ट्रपति बन्ने दाबी गरेका छन् ।
आइतबार सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमका बोल्दै महामन्त्री शर्माले संसदमा सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका हुन् । उनले चुनावका बेला भएको दलीय गठबन्धनका आधारमा कांग्रेसबाट राष्ट्रपति बन्ने दाबी गरे ।
‘नेपाली कांग्रेसको आफ्नै कमजोरीका कारण सत्ता गुम्यो, यसमा कसैलाई दोष दिनु छैन,’ शर्माले भने, ‘यही फागुन २५ गते राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ, त्यहाँ कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईंहरुले सुन्न पाउनुहुनेछ ।’
उनले केही सामान्य घटनाले नेकपा एमालेसँग नेकपा माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला गरिएको कांग्रेससँगको गठबन्धनका आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने बताए ।
‘अहिले एमाले अध्यक्ष ओलीले कांग्रेसले राष्ट्रपतिका लागि ढोक्सा थापेको भन्नुभएको छ, हामीले ढोक्सा थापेको होइन,’ उनले भने, ‘ओलीले एक्कासी एम्बुस थापेर बनाएको जस्तो गठबन्धन हाम्रो थिएन, हामी चुनावबाटै एक भएर आएका थियौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया