लोकतन्त्र सुदृढीकरणमा रासस

लोकपथ
26
Shares

काठमाडौं । जनताको क्रान्तिबाट एक सय चार वर्षे निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्रको घाम उदाएको आजको ऐतिहासिक दिन ।

यस दिनले देशमा प्रजातान्त्रिक शासन प्रणालीको अभ्यास सुरु गर्नुका साथै जनताको अधिकार सुनिश्चित गर्ने अभियान पनि प्रारम्भ गरेको स्मरणीय छ । त्यति मात्र नभई नेपाली पत्रकारिताको विकासमा सरकारी तबरबाट समाचार समिति स्थापना भएको दिन पनि भएकाले यस दिनलाई नेपाली सञ्चार क्षेत्रले महत्वपूर्ण अवसरको रुपमा लिएको छ ।

प्रजातान्त्रिक शासन प्रणलीको प्रभावकारिताका लागि सञ्चारको अधिकतम प्रयोग र सूचनाको खुलापन निकै महत्वपूर्ण मानिन्छ । विसं २०१८ मा स्थापना भई नेपालका सञ्चारमाध्यमहरुलाई समाचार सेवा प्रदान गर्दै आएको राससले आफ्नो स्थापनाको ६२ औँ वर्ष पूरा गर्दैगर्दा पछिल्ला दिनमा यस तथ्यलाई आत्मसाथ गरेको छ ।

६ दशकभन्दा बढी समयदेखि अविचलित रही राज्य र जनताको पुलका रूपमा राष्ट्रिय समाचार समिति(रासस) ले निरन्तर निर्वाह गर्दै आएको भूमिकाप्रति सञ्चार क्षेत्र विदित नै छ । यसबीचमा मुलुकमा भएको थुप्रै राजनीतिक परिवर्तनका बीच तथा २०७२ को भूकम्प र करिब तीन वर्षदेखि भोगिरहेको महामारीका कठिन बखतमा पनि केही समस्या झेल्दै एवं त्रिपाल टाँगेर र संक्रमणग्रस्त शरीर बोकेर जनताको सुसूचित हुने अधिकारलाई राससले एक दिन पनि नरोकिई निष्पक्षता र सन्तुलनका साथ समाचार सम्प्रषण गरिरह्यो ।

नेपाली पत्रकारिताको उन्नयन तथा सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र औपचारिक सूचना शीघ्र प्रवाह गरेर जनतालाई सुसूचित गर्नेमा राज्यको स्वामित्वमा रहेको राससले विशिष्ट भूमिका खेल्दै आएको छ । राससबाट उत्पादित समाचार समग्री नै आज देशैभरका सञ्चार माध्यमले प्रकाशन तथा प्रशारण भइरहेको छ । यो राससले कमाएको विश्वसनीयताबाट सम्भव भएको हो ।

त्यसैले आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने आफ्नो कर्तव्यप्रति सचेत रही आगामी दिनमा पनि राज्यका नीति, योजना एवं कार्यक्रम तथा सोच र अवधारणा सर्वसाधारणसामु प्रवाह गर्ने र तल्लो तहका जनताले भोग्नुपरेका दैनन्दिनका समस्या राज्यसामु पु¥याउन रासस अझ बढी प्रयत्नशील रहेकोे छ ।

प्रारम्भमा नेपाली समाचारबाट सुरु भएको रासस सेवा देशी विदेशी सञ्चारमाध्यम र तिनका पाठक–श्रोताको चाहना एवं रुचि तथा सञ्चार क्षेत्रको बहुआयामअनुसार हाल आलेख समाचार, अंग्रेजी र अन्तराष्ट्रिय समाचार, तस्बिर, श्रव्य र श्रव्यदृश्य सेवासम्म विस्तारित भएको छ ।

राससको यस अभियानमा सरकारले पनि यथाशक्य सघाइदिएर आफ्ना सेवालाई विविधीकरण गर्ने वातावरण दिइरहेको छ । राससले पछिल्लोपटक गत साउनदेखि श्रव्यदृश्य सेवा पनि शुरु गरेको छ । मुलुकमा राज्यको आधिकारिक समाचार समिति रहनुपर्छ भन्नेमा प्रायः सबै सञ्चारकर्मी, सञ्चारमाध्यम र पत्रकारहरूमा मतैक्यता नै छ । रासस सुदृढ भएमा राज्य पनि बलियो हुने हाम्रो मान्यता रहिआएको छ ।

राससलाई सूचना र समाचारको पहुँचमा नपरेका जनताका समस्या अझ खोतल्दै राज्यलाई मार्गनिर्देशन हुने गरी विश्लेषणात्मक सामग्री पस्कनका लागि सेवाग्राही र पाठकहरूबाट प्राप्त सल्लाह–सुझाव राससका अमूल्य सम्पत्ति हुन् । तिनलाई आत्मसात् गर्दै त्यस्ता विषयवस्तु क्रमशः पस्केर नयाँ स्वाद दिलाउन हामी तयार भइसकेका छौँ ।

यसै सन्दर्भमा राससले आलेख समाचार सेवालाई अझै व्यवस्थित र विस्तार गर्दै अन्तर्वार्ता र विज्ञहरूका विचार समेटी ‘आलेख, विचार र अन्तर्वार्ता सेवा’ का रूपमा प्रस्तुत गरेको छ । विश्वकै पत्रकारितामा उदाइरहेको अनलाइन न्युज पोर्टल तथा सूचना प्रदायक सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको रासस घटनाप्रधान सूचना तथा समाचार सम्प्रेषणलाई तीव्रता तथा मानवीय अभिरुचिपूर्ण–खोजी र अनुुसन्धानमूलक समाचार–आलेख प्रस्तुतिलाई नियमितता दिन सचेत छ ।

सञ्चार क्षेत्रमा भित्रिसकेका नयाँ सञ्चार तथा सूचना प्रविधिको प्रयोग गर्दै यसलाई बहुआयामिक सेवा प्रदायक बनाउन रासस प्रयत्नशील छ । पाठक–श्रोताप्रति सोझै जोडिनका लागि सामाजिक सञ्जालको उपयोग गर्न र अनलाइन न्युज पोर्टल स्थापना गर्नुपर्ने ठम्याइ भइसकेको छ ।

त्यस्तै अनुसन्धान एवं समाचारको पृष्ठभूमिका लागि सहायक हुने रासस स्थापना समयदेखिका समाचारको अभिलेखालयलाई इ–लाइब्रेरीमार्फत सार्वजनिकीकरण र पुस्तकालय व्यवस्थापनसम्बन्धी तथा साठी वर्षभन्दा बढी समयदेखिका भौतिकलगायत ऐतिहासिक सामग्रीसहितको रासस अभिलेखालय तथा संग्राहलय स्थापना र भवनको आमुख खण्डमा डेली न्युज डिस्प्ले व्यवस्था गर्न लागिएको छ ।

यसैगरी राससको आन्तरिक सेवालाई सहज बनाउन र सेवाग्राहीलाई अझ सहज र सुलभ बनाउन एकीकृत सफ्टवेयर जडानको काम अन्तिम चरणमा पुगेको छ ।

राससलाई आत्मनिर्भर बनाउने तथा प्रदेशबाट समाचार सम्प्रेषण, श्रव्यदृष्य सेवालाई व्यवसायीकरण, समाचार प्रत्यक्ष प्रसारण, स्थानीय भाषामा समाचार, अन्तरराष्ट्रिय समाचार सेवा विस्तार, छिमेकी मित्र राष्ट्र चीन र भारतमा समाचारदाताको व्यवस्था, २४ घन्टा सेवा सञ्चालन, स्थानीय तहसम्म समाचारदाता विस्तार र कार्यालयहरूलाई प्रविधिमैत्री बनाउनेलगायत कार्यक्रमबारे वर्तमान व्यवस्थापन चिन्ताशील छ ।

स्वदेशी र विदेशी सञ्चारमाध्यमहरुलाई समेत समाचार सेवा प्रदान गर्दै आएको छ दशकभन्दा पुरानो समाचार संस्था राससले आगामी दिनमा राज्यको एक आधिकारिक सूचना बैंकको रुपमा रहेर काम गर्ने प्रयास जारी छ ।

आफ्नोे समाचार सामग्रीको सबै क्षेत्रबाट पूर्ण उपयोग गराउन जनान्दोलनका घाइते, सहिद परिवार, महिला, पिछडिएको भौगोलिक क्षेत्र आदिका लागि सेवाशुल्कमा केही छुटको व्यवस्था केही वर्षदेखि नै रहिआएको छ भने यसै आर्थिक वर्षदेखि सेवाग्राहीको दायरा विस्तार गरेर व्यक्तिगतदेखि विभिन्न तहका सरकार र राजकीय संस्थालाई ग्राहक बनाउन परिमार्जित ‘रासस सेवाग्राही शुल्क निर्देशिका’ पारित गरिएको छ ।

व्यक्ति तथा सरकारी– गैरसरकारी सङ्घसंस्था राससको सेवाबाट लाभान्वित हुन सक्नेछन् । विसं २०७२ मा नेपालको संविधान जारी भएपछि दुई आमनिर्वाचनमार्फत संघीयताको अभ्यास बढिरहे पनि रासस अझ पूर्णरूपेण विकेन्द्रित हुन नसकिरहेकामा हामीलाई चिन्ता लागेको छ ।

मुलुकको एक मात्र आधिकारिक समाचार समिति सातै प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहका वडा वडासम्म पुग्नु जरुरी छ । त्यसका लागि थप जनशक्ति, सञ्चार उपकरण र तालिम, प्रशिक्षण, अभिमुखीकरण जस्ता क्षमता अभिवृद्धिका कार्यक्रम आवश्यक पर्छ ।

राससले समयानुकुल आफ्ना समाचार सेवाहरुमा विकास गर्दै प्रविधि र आफ्नो क्षमताको विकास र विस्तारमा पनि ध्यान दिन जरुरी छ । राससलाई आत्मनिर्भर गराउन, अत्याधुनिक सञ्चार प्रविधिको प्रयोग गराउन, आफ्ना कर्मचारी एवं पत्रकारहरूको बहुपक्षीय (मल्टीमिडिया) क्षमता वृद्धि गराउन सरकारका तर्फबाट आवश्यक सहयोग र प्रोत्साहनको आवश्यकता महसुस भएको छ ।

विश्वको प्रतिष्ठित समाचार समिति बनाउने सोचलाई मूर्त रूप दिनका लागि हाल सार्क वा बिम्स्टेक तहसम्म पुग्ने प्रयासमा राज्य संयन्त्रबाट सहयोगको अपेक्षा गरिएको छ । विश्वका समाचार समितिहरुसँगको सम्बन्धलाई सुदृढ बनाउन हालै इरानको तेहरानमा सम्पन्न एसिया प्यासिफिक देशका समाचार समितिहरुको सम्मेलनमा सहभागी भई विभिन्न समाचार समितिका अधिकारीसँगको छलफल र समन्वयले संस्थालाई उत्सहित बनाएको छ ।

विश्वमा सूचना र प्रविधिको द्रूत गतिमा विकास भइरहेको छ । यस विश्व परिवेशमा हामीले पनि हाम्रा सञ्चारमाध्यमहरुलाई समय र युग सुहाउँदो रुपमा थप अध्यावधिक र परिमार्जित गर्दै लैजानुपर्छ । जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्छ । आजको विश्वमा प्रभावकारीको प्रेसको कुरा गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता र सूचनाको हकको कुरा पनि सँगै गर्ने गरिन्छ ।

वास्तवमा पछिल्ला दिनमा यिनलाई प्रजातन्त्र–लोकतन्त्रको पूर्वशर्तका रुपमा स्वीकार गर्ने गरिन्छ । यही मान्यतालाई आत्मसात् गर्दै नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न राससले पनि आफ्नो सेवालाई थप चुस्त दुरुस्त बनाउन आफ्ना सबै संयन्त्र र क्षमता परिचालन गर्न क्रियाशील रहेको छ ।

राज्य र जनताको समाचार संवाहककका रुपमा गुरुत्तर भूमिका निर्वाह गर्नुपर्ने दायित्वमा रहँदा निश्चय नै यी विषयप्रति रासस गम्भीर छ र रहनेछ । रासस जनताको करबाट सञ्चालित संस्था हो । यस आधारमा निश्चय पनि यो संस्था जनताप्रति उत्तरदायी हुनुपर्छ ।

आजको दिन मुलुकमा प्रजातन्त्र स्थापना भएको दिन मात्र होइन, सम्पूर्ण नेपाली सञ्चार जगतको सहयोगी राससको स्थापना पनि भएको दिन समेत भएकाले राससलाई अझ आफ्नो नाम र उद्देश्यानुकूल जनताका मन मनका र घरआँगनका समस्या उजागर गर्न तथा राज्यप्रतिको दायित्वलाई अविचलित कायम राख्दै लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउन हामी सबैको सामूहिक प्रयासको खाँचो रहेको छ ।

(लेखक राससका कार्यकारी अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?