काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विद्यमान राज्य व्यवस्थाले जनतालाई सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन दिन नसकेको बताएका छन् ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राजनीतिक दलका नेताहरु देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जञ्जालमा फसेको बताएका हुन् ।
‘राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न,’ पूर्वराजा शाहले भनेका छन्, ‘देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जञ्जालमा राजनीतिक दलका धेरै नेताहरु फसेका छन् । तिनका धेरै कार्यकर्ताहरुमा राजनीतिक छत्रछाया नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ ।’
दलहरुको आन्तरिक सुधार एवं विकल्पको गुन्जायस नदेखिएको उनको टिप्पणी छ । साथै नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरी कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्क परराष्ट्र नीतिको अभ्यास गम्भीर चिन्ताको विषय भएको पूर्वराजा शाहको भनाइ छ ।
‘प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरुको आन्तरिक सुधार एवं विकल्पको गुन्जायस नदेखेको आभाष समाजमा उजागर भएको छ । दलहरुले नेपालको निम्न एवं मध्यमवर्गको मुद्दामा मौन रहने प्रवृत्ति बढ्दो छ । शासकीय उत्तरदायित्व र गाम्भीर्यको कमी देशभित्रका सवालमा मात्र होइन परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको छ ।
नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरी कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्क परराष्ट्र नीतिको अभ्यास गम्भीर चिन्ताको विषय भएको छ,’ पूर्वराजा शाहद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
आफूले नेपाल एकीकरणको झण्डै २४० वर्षपछि जनताको नासो जनतालाई नै बुझाएको तर अहिले देश कुशासन, भष्ट्रचार, निराशलाग्दो आर्थिक शिथलिता र सामाजिक विग्रहको चपेटामा फसेको उनले बताएका छन् ।
उनले भनेका छन्, ‘नेपाल एकीकरणको झण्डै २४० वर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौँ । विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागतयोग्य भए पनि अहिले कूशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया