संसारमा अबको द्वन्द्व पानीमा हुँदैछ : प्राध्यापक शर्मा (भिडियोसहित)

लोकपथ
143
Shares

काठमाडौं । पानीका क्षेत्रमा कार्यरत वैज्ञानिक डा. सुबोध शर्माले संसारमा अबको द्वन्द्व पानीसँग सम्बन्धित हुने भन्दै सचेत गराएका छन् ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापकसमेत रहेका शर्माले लोकपथ टिभीको कार्यक्रम कर्माणिका लागि कुरा गर्दै ‘पानी नै जीवन’ भएको तथ्य नभुल्न सबैलाई आग्रह गरे ।

पृथ्वी बन्दै पानीको विकास भएकाले मानिसको जीवनभन्दा जेठो पानीको विकल्प अहिलेसम्म कसैले सुझाउन नसकेको उनले बताए । प्रकृतिबाट सित्तै पाइरहेको हावा, पानी र ताप मध्ये विज्ञानले पनि अहिलेसम्म पानीको विकल्प विकास गर्न नसकेको उनले बताए ।

नेपाल पानीमा धनी भए पनि विकासका नाममा अन्धाधुन्ध गरेको विनाशले पानीका स्रोतहरु सुकाउँदै र प्रदूषित गर्दै लगेकामा उनले चिन्ता व्यक्त गरे । ‘पानी धेरै भए पनि प्रयोगमा लिनसक्ने पानीको मात्रा कम छ । कित हिमालमा हिउँका रुपमा छ, कि प्रयोगमा लिन नसक्ने गरी बगेर खेर गइरहेको छ ।,’ उनले थपे ।

उनले भने, ‘पानी प्राकृतिक रुपमै पनि प्रदूषित हुँदै गएको छ । अम्लीय वर्षा, शिशाको मात्रा बढ्नाले पिउने पानी दूषित हुँदै गएको छ । गोसाईंकुण्डदेखि तराईको भूमिगत पानीसम्ममा अखाद्य तत्व हावी भएकाले क्यान्सरसम्मको जोखिम बढेको छ ।’

‘औद्योगिक क्षेत्रबाट निस्कने रसायनयुक्त पानीले खानेपानीका स्रोतहरुलाई विषाक्त त बनाएकै छ, त्यसले खोलानाला, खोल्सीहरुमा बग्ने पानीलाई निष्प्राण पनि बनाउँदै लगेको छ,’ अनुसन्धानकर्ता शर्माले बताए ।

‘पानीमा सिधै मलमूत्र मिसाउँदा झाडापखाला, आउँ जस्ता रोगको प्रकोप त बढेकै छ, त्यसले काठमाडौंका वाग्मतीसहितका नदीलाई जीवनरहित बनाइदिएको छ,’ उनले भने ।

जमीन मुनी पानी जाने बाटाहरु बन्द गर्दा भूमिगत पानीको स्रोत सुक्न थालेको भन्दै शर्माले तराईका जिल्लाहरुमा पानीको सतह घट्दै जाँदा पानीमा आर्सेनिक तत्व देखिएको र त्यसले क्यान्सर जस्तो घातक रोग बढाएको जानकारी दिए ।

भारतमा बग्ने अधिकांश नदीको मूल स्रोत नेपालको हिमाल हुँदै बग्ने नदीनाला भएकाले नेपालको हिमाल र नदी संरक्षणमा भारतले सघाउनु पर्ने र नेपालले पनि सहकार्य गर्नुपर्ने उनको सुझाव छ ।

नदी प्रणालीबाट जमीनमा पानी ‘रिचार्ज’ गर्न देशभरका नदीहरुबाट बालुवा, गिट्टी र ढुंगा झिक्न तत्काल रोक्न पनि सरकारसँग उनले आग्रह गरे । नदी दोहनका कारण नारायणी, राप्ती जस्ता नदीको सतह गहिरिएको र त्यसले चितवन राष्ट्रिय निकुञ्जका जंगली जनावरले पानी नै खान नपाउने अवस्था सृजना भएको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?