प्रधानमन्त्री प्रचण्डलाई तारन्तार भेटेर एमाले अध्यक्ष ओली मनोवैज्ञानिक दबाब दिँदै छन् ?

लोकपथ
133
Shares

काठमाडौं । पछिल्ला केहिदिन यता नेकपा एमालेका अध्यक्ष एवं वर्तमान सत्ता गठबन्धनका सूत्रधार केपी ओली प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तारन्तार भेट भइरहेको छ ।

यो भेट प्रचण्डको इच्छाभन्दा पनि ओलीको तड्पाई बढी भएको माओवादी केन्द्रका एक नेता बताउँछन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली आफैं प्रधानमन्त्री निवास बालुवाटार मात्र धाउँदैनन्, बालकोटस्थित आफ्नै निवासमा पनि घरीघरी बोलाइरहन्छन् ।

कामको कुरा के हुन्छ थाहा छैन, भेट मिनेटमा सीमित छैन, घण्टा, डेढ घण्टादेखि दुई/दुई घण्टासम्म हुन्छ । के गन्थनिएर बस्छन् थाहा छैन ? देशमा चरम आर्थिक संकट छाएको छ । आर्थिक परिसूचकहरु सकारात्मक छैनन् ।

देशको सत्ता चलाइरहेका दुई नेताको ध्यान केही दिन होइन, हप्तौंदेखि अबको राष्ट्रपति को बन्ने भन्ने ‘फतुर’ गफमा सीमित छ । ओली शितलनिवासमा फेरि पनि कुनै हालतमा आफूले प्रस्ताव गरेको एमालेकै मान्छे राष्ट्रपतिका रुपमा पुर्याउने एकसूत्रीय अभियानमा केन्द्रित छन् ।

राष्ट्रपति, सभामुख र आउँदो दुई वर्षपछि प्रधानमन्त्रीसहित राज्यका महत्वपूर्ण निकाय एमालेलाई सुम्पँदा हुने राजनीतिक क्षतिको चित्र देखेका प्रचण्ड र माओवादी केन्द्र भने कुनै हालतमा एमालेको उम्मेदवारलाई शितलनिवास उक्लनबाट रोक्ने दाउमा छन् ।

यसका लागि नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा संसदमा विश्वासको मत दिएर बाटो खुकुलो गराइदिएको छ । आफ्नै हठका कारण राजकीय पदहरुबाट एकै पटक पत्तासाफ भएको कांग्रेसले एमालेलाई राष्ट्रपतिमा रोक्नकै लागि प्रचण्डलाई विश्वासको मत दिएर ‘ढोक्सा थापेको’ त ओलीले संसदमै भनेका थिए ।

पछिल्लो ५५ दिनमा मात्र ओली र प्रचण्डबीच १९ पटक एक्लाएक्लै भेट भएको छ । जहाँ जनताका दुःख, पीर मर्का र चासोको विषयमा होइन, फगत राजनीतिक चालबाजीका कुराले समय खाएको छ ।

देश चलाउनेहरुको ध्यान कहाँ केका लागि केन्द्रित छ भन्ने यो एउटा दृष्टान्त हो । बिहीवार दुई घण्टा बालुवाटारमा गफिएका दुई नेता शुक्रबार फेरि ओली निवास बालकोटमा नभेटी भएन । के छ त यस्तो जरुरी विषय ? के मा कुरा गर्छन् नेताहरु दुई अढाई घण्टासम्म ?

यसबारेमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं माओवादी नेता हरिबोल गजुरेल संक्षिप्त प्रतिक्रिया दिँदै भन्छन्, ‘जनताको चाहना एकातिर छ । जनचासोको विषयमा छलफल भइदिओस् भन्ने छ । तर समय अरुले नै खाइरहेको छ । के गर्नु ?’

दुई अढाई घण्टासम्म प्रधानमन्त्री के कुरा गरेर बसिरहन्छन् ? त्यो पनि एक पटक होइन आजै भोलि, तारन्तार भन्ने प्रश्नमा हाँस्दै उनी भन्छन्, ‘प्रधानमन्त्री प्रचण्डको त लामो कुरा गरेर बस्ने शैली नै होइन । जति कुरा भए पनि पन्ध्र÷बीस मिनेटमा त सकाइहाल्छन् ।’

यसरी समय कटाएको देख्दा जनताले के भन्लान् भन्ने लाग्दैन नेताहरुलाई ? भन्ने प्रश्नमा उनले भने, ‘हो, तर, के गर्नु बाध्यता !’

एमालेका नेता विष्णु रिजाल भने ‘एक त हाम्रो अध्यक्षको कुरा गर्ने शैली अलिक विस्तारित खालकै छ । अर्कातिर कुराका सन्दर्भमा नयाँ विषय जोडिने बित्तिकै त्यसलाई पनि छिमलेर जोड्ने गर्नुहुन्छ । त्यसले पनि बसाईहरु लामो हुन्छन् । तर, उहाँसँगको बसाई बोझिलो वा पट्टयारलाग्दो भने हुन्न ।’

‘पछिल्लो भेटहरु के का सन्दर्भमा भइरहेको छ भन्ने त प्रष्टै छ । राष्ट्रपतिमा कुरा मिलिरहेको छैन । दुबै दलको आ–आफ्नै दाउ छ नै । राष्ट्रपति यसै गर्ने भन्ने कुरा नमिलेकैले भेटहरु लम्बिएका हुन् । यस्ता कुरामा के गर्ने त के गर्ने ? लौं टुग्याउ भन्ने शैलीले काम गर्दैन । त्यसैले पनि यो तारन्तारको भेटवार्ता भइरहेको हो,’ रिजालले प्रष्ट पार्दै भने ।

जनताको चाहना नेताहरु यस्ता खाले बैठकमा नअल्झिउनु भन्ने रहेकामा सहमति जनाउँदै उनले आफ्नो विषय टुग्गोमा नपुग्दासम्म यस्ता भेटहरु लम्बिने गर्छन् भने । के मनोवैज्ञानिक दबाब दिनका लागि भइरहेका हुन् त यी भेटवार्ता भन्ने सवालमा उनी भन्छन्, ‘दबाब नै त नभनौं । परिस्थितिका जोखिमहरुबारे त पक्कै पनि छलफल भइनै हाल्छ नि ।’

पुस १० पछि शुक्रबारसम्ममा प्रचण्ड र ओलीबीच १९ पटक एक्लाएक्लै वार्ता भइसकेको छ । घण्टौं छलफल गर्छन् । तैपनि कुरोको चूरो नफुट्नुले भने एकले अर्कालाई गलाउने खेल भइरहेको अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?