धर्मशालामा शंकराचार्यको अन्तर्क्रिया

लोकपथ
14
Shares

काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती काठमाडौं आइपुगेका छन् । शंकराचार्य निश्चलानन्द सरस्वती बिहीबार साँझ काठमाडौं आइपुगेको कोषका संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए ।

शंकराचार्यलाई कोषका सदस्य सचिव डा.मिलनकुमार थापालगायत कर्मचारीले स्वागत गरेका थिए । शंकराचार्य निश्चलानन्द सरस्वती पशुपति क्षेत्रस्थित नेपाल–भारतमैत्री धर्मशालामा बसेका छन् । उनका साथमा त्रिदण्डी स्वामी निर्विकलानन्द, ऋषिकेश ब्रह्मचारी, शंकराचार्यका अन्तराष्ट्रिय प्रभारी प्रेमचन्द्र झालगायत सात सदस्यीय समूह रहेको छ ।

शंकराचार्य निश्चलानन्द सरस्वतीले आज पशुपतिनाथमा दर्शन गर्नुहुने कार्यक्रम छ । दर्शनपछि उनले पशुपति क्षेत्रस्थित शंकराचार्य मठमा प्रवचन गर्ने कार्यक्रम रहेको बताइएको छ । आजै साँझ उनले धर्मशालामा हुने अन्तक्र्रिया कार्यक्रममा जिज्ञासुका प्रश्नको उत्तर दिनुहुने कोषले जनाएको छ ।

शंकराचार्यसँगै महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा साधुसन्तको भीड लागेको छ । यस वर्ष महाशिवरात्रिमा करिब पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आउने अनुमान कोषको छ । पशुपति क्षेत्र आएका साधुसन्तलाई बिहीबारदेखि नै भोजन, आवास र धुनीको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?