ग्याँस आगलागीमा जलेर गम्भीर घाइते भएका सांसद भण्डारीको आज पहिलो सर्जरी गरिँदै

लोकपथ
35
Shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको उपचार शुरु भएको छ । ग्याँस आगलागीमा जलेर गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको आज पहिलो सर्जरी गरिने भएको छ ।

बुधबार राति आफ्नै घरमा भएको ग्याँस आगलागीमा परी गम्भीर घाइते भएका भण्डारीको हाल भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरको आईसीयु कक्षमा उपचार भइरहेको छ ।

मुम्बईबाट भण्डारीसँगै रहेका योगराज कँडेलले दिएको जानकारी अनुसार केहिबेरमै सांसदको उपचारबारे काउन्सिलिङ शुरु गरिनेछ ।

गएराति राती १०:३० बजे डा. सुनिल केस्वानीबाट भएको काउन्सिलिंग अनुसार भण्डारीको शरीरमा फ्लुडको मात्रा डवल गर्ने र आज विहान १०:३० मा पहिलो सर्जरी गरिने जानकारी पनि कँडेलले दिएका छन् । सोही अनुसार भण्डारीको दिउँसो १:३० बजे दोस्रो सर्जरी गरिनेछ ।

उपचारमा संलग्न डा. संदीप मिस्त्रीका अनुसार अनुसार भण्डारीका सबै पारामिटरहरू नर्मल रहे पनि ४८ घण्टा भने भेन्टिल्सनमै राख्नुपर्ने हुन्छ ।

डा. अमुलले दिएको जानकारीमा उनको हृदयको चाल नर्मल छ भने एण्टीवायोटिक्स निरन्तर राखिनेछ । उनले आत्तिनु नपर्ने जानकारी पनि दिएका छन् ।

शुरुमा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको भण्डारीलाई चिकित्सकहरूको सल्लाहबमोजिम थप उपचारका लागि मुम्बई लगिएको हो ।

भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान किर्तिपुर अस्पतालका चिकित्सकहरुले सिफारिस गरेका थिए । भण्डारीको अनुहारमा आगोले पोलेका कारण त्यसले श्वासनलीमा असर पुर्‍याएको छ ।

सांसद भण्डारीसँगै जलेकी ८९ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?