विधान संशोधन प्रस्ताव महासमिति बैठकमा पेश हुँदै

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा आज विधान संशोधन प्रस्ताव पेश हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि सुरु हुने बैठकमा विधान संशोधन प्रस्ताव पेश हुने भएको हो । 

विधानको संशोधित मस्यौदा लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट पारित भएको छ । संशोधन प्रस्ताव पारित भएसँगै आज महासमितिमा पेश हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

उनका अनुसार बैठकमा पेश हुने संशोधन प्रस्तावमाथि नेताहरुले छलफल गर्ने छन् । ‘छलफल सम्भवतः भोलिसम्म चल्छ,’ प्रवक्ता शर्माले भने, ‘छलफलको निष्कर्षसहित महासमिति बैठक भोलि सकिने छ ।’

पुस २९ गतेबाट सुरु भएको महासमिति बैठक नेताहरुबीचको विवादका कारण लम्बिएको छ । 

अन्ततः नेताहरुबीच सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ र कोषाध्यक्ष रहने रहने सहमति भएको छ । ८ सहमहामन्त्रीमा ७ जना जातीय समुदाय र एक पीछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुनेछन् । 

प्रस्तावित पदाधिकारीमा कोषाध्यक्षबाहेक सबैजना महाधिवेशनबाट निर्वाचि हुनेछन् ।

पदाधिकारीको संख्या बढेपछि केन्द्रीय कार्यसमितिको आकार पनि १ सय ६७ पुगेको छ जसअनुसार खुला महिला-पुरुषबाट ३५ सदस्य निर्वाचित हुनेछन् । हालको ८५ सदस्यीय कार्यसमिति छँदा यो कोटा २५ थियो । नयाँ प्रावधानअनुसार समावेशी कोटा ४० प्रतिशत पुगेको छ ।

सभापतिले कुल केन्द्रीय कार्यसमितिको २० प्रतिशत मनोनयन गर्न पाउने व्यवस्था राखिएको छ । हालको १ सय ६७ सदस्यीय कार्यसमितिलाई महासमिति बैठकले अनुमोदन गरेमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउनेछन् ।

विधानको यो नयाँ प्रावधानसँगै सभापतिको अधिकार खुम्चिएको छ । कोषाध्यक्षबाहेक सभापतिले पदाधिकारी मनोनयन प्रस्ताव गर्न पाउनेछैनन् । सदस्य मनोनयन संख्या धेरै भएकाले कार्यसमितिमा निर्वाचित सभापतिका पक्षमा बहुमत पुग्ने सम्भावना भने प्रबल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?