प्रचण्ड–ओली भेटवार्ता : के–के विषयमा भए छलफल ?

लोकपथ
130
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचकाे छलफल सकिएकाे छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीचकाे छलफल सकिएकाे हाे ।

भेटका क्रममा आउँदो राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो । आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

छलफलमा एमाले अध्यक्ष ओलीले राष्ट्रपति एमालेले नै पाउनुपर्ने र त्यसका लागि पहल गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए । भने, प्रधानमन्त्रीले राष्ट्रपतिका लागि सामाजिक तथा राजनीतिक रुपमा ख्याती प्राप्त राष्ट्रिय व्यक्तित्वलाई साझा उम्मेदवारका रुपमा अघि बढाउने अडान कायमै राखेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

यद्यपि, ओलीले भने पटक–पटक पुष १० गतेको सहमतिलाई कार्यान्वयन गर्न अध्यक्ष दाहालमाथि दबाब दिइरहेका छन् । ‘पुष १० गतेको छलफलको विषयलाई लिएर एमाले अध्यक्षले राष्ट्रपतिमा एमालेले सिफारिस गरेको मान्छेलाई राष्ट्रिय सहमति गर्नका लागि दबाब दिइरहनुभएको छ,’ स्रोतले लोकपथसँग भन्यो, ‘प्रधानमन्त्रीले पनि आफ्नो अडान कायमै राख्नुभएको छ । अहिलेसम्म एमाले, कांग्रेस वा यसैलाई भनेर भन्नुभएको अवस्था छैन ।’

यस्तै, भेटघाटका क्रममा ओलीले राष्ट्रपतिमा पूर्ववत् सहमति कायम नभए सत्ता गठबन्धनमा समस्या आउनसक्ने चेतावनीसमेत दिएका थिए । यद्यपि, प्रधानमन्त्रीले भने राष्ट्रपतिकै कारण सत्ता गठबन्धनलाई आफूले धरापमा जान नदिने बताएको स्रोतले जानकारी दियो ।

दुबै पक्षले आफ्नो अडान राखेपछि छलफल नटुंगिएको प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । ‘दुवैजनाले आ–आफ्नो अडान नछोडेपछि आजको छलफल बिना निष्कर्ष टुंगिएको छ,’ लोकपथसँगको कुराकानीका क्रममा गजुरेलले भने, ‘भोलि बालकोटमा बसेर फेरि छलफल गर्ने कुराकानी भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?