बागमती प्रदेशसभा सदस्यलाई अभिमुखिकरण

लोकपथ
39
Shares

काभ्रेपलाञ्चोक । बागमती प्रदेश सभाका नवनिर्वाचित प्रदेशसभा सदस्यका लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । बागमती प्रदेशसभा सचिवालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशभरिका नवनिर्वाचित प्रदेशसभा सदस्यको सहभागिता छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यक्रम शुभारम्भ गर्दै निर्वाचित सदस्यको काम, कर्तव्य, दायित्वका साथै संविधान र ऐन नियमका बारे जानकारी लिन अभिमुखिकरण कार्यक्रम फलदायी हुने बताए । ‘जनताले दिएर पठाएको जिम्मेवारी र उत्तरदायित्व बहन गर्दै समस्या समाधान गर्नको लागि संसद्मा अझ बढी क्रियाशील हुन यसले थप मद्दत गर्नेछ’, उनले भने ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभा सदस्यले सरकारलाई संसद्प्रति जवाफदेही बनाउने तथा कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अभिमुखिकरणले दिशानिर्देश गर्ने बताए । प्रदेशसभामा निर्वाचित सदस्यलाई आवश्यकता अनुसार समय समयमा दिइने तालिममध्ये यो कार्यकालको दुई दिने गोष्ठी पहिलो पटकको भएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।

गोष्ठीमा विधि निर्माण प्रक्रिया र सांसदको भूमिका, संसदीय गतिविधिमा सांसदको कर्तव्य र सुविधालगायत विषयमा विषय विज्ञहरुले सहजीकरण गर्ने आयोजकले जनाएको छ । बागमती प्रदेशले पहिलो पाँच वर्षे कार्यकालको १० ओटा अधिवेशनमा दुई सय ७२ बैठक बसेको थियो । उक्त समयमा ७० ओटा कानुन पारित भएका छन् भने ३३ ओटा पाइप लाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?