के बिजुलीको स्वीच अन गर्दा निस्केको झिल्को नै थियो त भण्डारीको घरको ग्याँस विष्फोट ?

लोकपथ
1.1k
Shares

काठमाडौं । कांग्रेस सांसद चन्द्र भण्डारीको बुद्धनगरस्थित घरमा लिक भएको ग्याँसमा आगो लाग्दा उनकी आमाको निधन भएको छ भने उनलाई थप उपचारका लागि भारत लगिएको छ ।

बुधबार राति खाना पकाउने ग्याँस लिक भएको र त्यसमा आगो लाग्दा घाइते भएकी भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको उपचार क्रममा बिहीबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

बुद्धनगरस्थित भाइको घरको भुइँ तलामा बस्दै आएका आमाछोरा ग्याँस लिक भएको थाहा पाएपछि किचनमा एकसाथ गएको र त्यो क्रममा बिजुलीको स्वीच अन गर्दा उक्त दुर्घटना भएको हुनसक्ने प्रारम्भिक आंकलन गरिएको छ ।

सिलिण्डर पनि नपड्किएको र चुलोको पाइपहरु पनि नजलेको पाइएकाले भित्तामा रहेको बिजुलीको स्वीच अन गर्दा निस्केको आगोको झिल्को लिक भएर कोठामा फैलिएको ग्याँसलाई टिप्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले भण्डारीको बहिनीलाई उधृत गर्दै भने, ‘ग्यासको गन्ध आएपछि आमाले दाईलाई बोलाएको सँगै र दाईले कोठामा पुगेर बत्ति बाल्न लाग्दा आगलागी भएको रहेछ । ग्याँस बाल्नलाई कुनै सलाई, लाइटर जस्ता वस्तुको प्रयोगनै गरिएको थिएन ।’

कार्कीले भने, ‘उक्त जानकारी अनुसार बत्ती बालेर हेर्न खोज्दा स्पार्क निस्केर फैलिएको ग्यासमा आगो सल्किएको र त्यसैमा जलेर यो दुर्घटना भएको हाम्रो प्रारम्भिक आंकलन छ । थप विषयमा हामीले अनुसन्धान गरिरहेका छौं ।’

आगलागीपछि भएको विस्फोटले झ्यालका शिशा फुट्नेको पाइएको छ । तर, यस घटनाले ग्याँस लिक भएको कोठामा छिर्दा बिजुली बत्ति नै बाल्दा पनि होशियारी अपनाउनुपर्ने देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?