काठमाडौं । यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा सोमबार गोंगबुमा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
प्रहरी र यातायात मजदुरहरू बीचको झडपबाट भएको क्षति र लुटपाटमा भएको कमजोरीबारे जाँचबुझ गर्न रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा समिति गठन गरिएको हो ।
प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार शान्तिपूर्ण भनिएको आन्दोलन कसरी उग्र बन्यो र धेरै क्षति भयो भन्ने विषयमा छानबिन गर्न बुधबार यो समिति बनाइएको हो ।
समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य छन् । समितिलाई यथाशीघ्र छानबिन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको डीआईजी पोखरेलले जानकारी दिए ।
ट्राफिक प्रहरीले लगाएको जरिवानाको विरोध गर्दै यातायात व्यवसायीले गरेको प्रदर्शनले उग्र रुप लिँदा प्रहरी वृत्त, बालाजुका दुई गाडीमा तोडफोड र आगजनी भएको थियो । अरु सार्वजनिक सम्पत्तिमा पनि क्षति पुगेको थियो । माछापोखरीमा जम्मा भएको समूहले प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका थिए ।
प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए । उग्र भिडले लोत्से मलमा लुटपाट समेत गरेको थियो । यसमा संलग्न १५ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले नियन्त्रणमा लिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया