कांग्रेस सभापति देउवा र सभामुख घिमिरेले बुझे सांसद भण्डारीको स्वास्थ्य अवस्था

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगलागीमा परी गम्भीर घाइते भई उपचाररत पार्टी नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बिहीबार बिहान कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर देउवाले आगोले जलेर घाइते भएका सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

यसैगरी, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पनि बर्न अस्पताल पुगेर सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सभामुख घिमिरेले अस्पतालका प्रमुख डा. किरण भण्डारीसँग जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन र संवेदनशील हुन आग्रह गरेका छन् ।

सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गएराति खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट हुँदा जलेर गम्भीर घाइते भएपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन् । दुबैको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।

शरीरको २५ प्रतिशत भाग जले पनि फोक्सोमा समेत असर परेकाले सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिश गरेका छन् । आमाको अवस्था झनै जटिल रहेको बताइएको छ ।

गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारीका आमा–छोरा जलेर घाइते भएका थिए । राति नै कीर्तिपुर अस्पतालमा लगिएका दुबै जनाको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?