जर्मनीद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध

लोकपथ
26
Shares

काठमाडौं । जर्मनीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई कोरोना भाइरसविरुद्धको खोप आज हस्तान्तरण गरे ।

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा राजदूत डा.प्रिन्जले मन्त्री गिरीलाई तीन लाख ४५ हजार मात्रा खोप हस्तान्तरण गरेका हुन् । जर्मन सरकारले विभिन्न चरणमा १५ लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यही फागुन १ गते तीन लाख ४५ हजार मात्रा बुस्टर डोजका लागि फाइजरको ‘बाइभ्यालेन्ट’ खोप नेपाल आएको थियो ।

मन्त्री गिरीले खोप लक्षित वर्ग तथा ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने बताए । उनले नेपालमा भूकम्प गएका बेला पनि जर्मन सरकारले सहयोग गरेकामा प्रशंसा गरे । राजदूत डा.प्रिन्जले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए । उनले आफूहरूले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गर्दै प्राप्त खोप राम्रो ठाउँमा पुग्नेमा आफू ढुक्क रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?