डान्सर युवतीको विवादमा गोली हानियो, यसरी हुन पुग्यो घटना

काठमाडौँ, ६ कत्तिक- एक युवतीको विवादमा आइतबार काठमाडौंमा गोली प्रहार भएको छ । डान्सबारमा कार्यरत युवतीको विषयमा दुई समूहबीच विवाद हुँदा प्रहार भएको गोली लागेर एक युवक घाइते भएका छन् । प्रहरीले डान्सर युवतीदेखि गोली हान्नेसम्मलाई पक्राउ गरेको छ ।स्वयम्भू बस्ने असुन गुरुङले गोरखाका कल्याण गुरुङलाई गोली हानेका हुन् । ठमेलको हुक्का बारमा डान्सरका रूपमा काम गर्ने सबिना क्षेत्रीको विषयमा भएको विवादमा असुनले कल्याणलाई गोली प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए । असुन र सबिना दुवैलाई प्रहरीले पक्राउ गरेको छ, नयाँ पत्रिकामा खबर छ ।ठमेलमा रमझम, म्हैपीमा गोलीठमेलमा रहेका डान्सबार मध्यराति १२ बजे बन्द हुन्छन् । हुक्का बार पनि शनिबार राति १२ बजे बन्द भयो । सो बारमा डान्सर रहेकी सबिना आफ्नी एक साथीसहित सिएनआई डिस्कोमा गइन् । राजधानीका डिस्को राति २ बजेसम्म खुल्छन् । सिएनआईमा सबिनाको चिनजान कल्याण गुरुङको समूहसँग भयो । सँगै बसेर उनीहरूले मदिरा पिए । केही समयपछि असुन गुरुङ सोही डिस्कोमा पुगे । उनी डिस्कोका नियमित ग्राहक हुन् । डिस्कोका डिजे सुरेन्द्र शाहीले उनलाई सबिनासँग चिनजान गराइदिए । सबिना कल्याणभन्दा असुनसँग नजिक भइन् ।राति २ बजे डिस्को पनि बन्द भयो । सबिना हिँड्दै घर फर्कंदै थिइन् । कल्याणलगायत उनका साथीले उनलाई आफूहरूसँग जान भन्दै पछ्याइरहेका थिए, तर उनले मानिनन् । कल्याणको समूहले पछ्याइरह्यो । सबिनाले असुनलाई फोन गरेर बोलाइन् । केही मिनेटभित्रै उनी गाडीमा आइपुगे । सोह्रखुट्टेको ओरालोबाट सबिनालाई गाडीमा राखेर उनी अघि बढे । बा.५७प ६९५७ नम्बरको स्कुटीमा कल्याण गाडीको पिछा गर्न थाले । असुनसँग पनि उनको वादविवाद सुरु भइसकेको थियो । म्हैपीको बहतीपोखरीस्थित मिड प्वाइन्ट स्नुकर हाउसअघि कल्याणले गाडीअगाडि लगेर स्कुटी रोके । असुनले पेस्तोल निकालेर उनको तिघ्रामा एक फायर गरे । कल्याणलाई गोली लागेपछि उनका साथीहरू पनि डराए । असुन अघि बढे ।प्रहरीले केहीछिनमै खबर पायो । आइतबार बिहानै प्रहरीले असुन र युवतीलाई पक्राउ ग¥यो । ‘युवतीकै विषयमा विवाद भई गोली चलेको देखिन्छ,’ एसएसपी धानुक भन्छन्, ‘सबै पक्षले मदिरा पिएकाले पनि सो घटना भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?