राष्ट्रपतिमा कांग्रेसलाई सघाउने सम्भावना छ : माओवादी नेता पौडेल

लोकपथ
39
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका बारेमा केही दिनमै आधिकारिक निर्णय गर्ने भएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीको पदाधिकारी बैठक बसेर राष्ट्रपतिका बारेमा निर्णय लिने जानकारी दिएका हुन् ।

राष्ट्रपति निर्वाचनको विषयमा पार्टीभित्र मात्र नभई अन्य राजनीतिक दलसँग पनि छलफल भइरहेको उनले बताएका छन् । ‘कांग्रेसलाई राष्ट्रपतिमा सघाउने विषय पनि उठेको छ तर, आधिकारिक निर्णय भने भएको छैन । उनले लोकपथसँग भने, ‘हामी बैठक बसेर कसरी जाने भन्ने निर्णय केही दिनमै दिन्छौँ ।’

राष्ट्रपति सबै दलको स्वीकार्य हुनुपर्ने पक्षमा रहेको माओवादी केन्द्रले सबै दलसँग परामर्श गरिरहेको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेको माओवादीले फागुन १३ गतेअघि पदाधिकारी बैठकबाट आधिकारिक निर्णय गरी टुंगो लगाउने जनाएको छ । नेकपा एमालेले भने राष्ट्रपति आफूले पाउनुपर्ने गरी माओवादी केन्द्रसँग सहमति भइसकेको दाबी गर्दै आइरहेको छ ।

उसले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउँदा प्याकेजमै सबै पदमा सहमति भएको भन्दै राष्ट्रपति आफूहरूको भागमा परेको बताउँदै आएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रिय सभा उपनिर्वाचनमा माओवादीलाई समर्थन गर्दै सम्बन्धलाई नजिक्याउने रणनीति लिँदै आएको थियो ।

उसले राष्ट्रपति निर्वाचन अघि नै पुरानै सत्ता समीकरणमा फर्किने दाबी गर्दै आएको छ । जसले गर्दा पछिल्लो पटक राष्ट्रपतिको चुनावसँगै सत्ता समीकरणमा हेरफेर हुने चर्चा पनि शुरु भएको छ । कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ भने त्यसका लागि माओवादीले साथ दिनेछ भन्नेमा सो पार्टी ढुक्क देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?