आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी दाङमा

लोकपथ
26
Shares

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आइपुगेकी छन् । काठमाडौंबाट हेलिकप्टरमार्फत बुधबार बिहान उनी दाङ आइपगेकी हुन् ।
लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद थपलियाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।
२४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागत रुपैयाँमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मंसिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको कुलसचिव अधिकारीले बताए । तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् । उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको हो ।

महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ । राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ । त्यस्तै संस्कृत वाङ्मयका गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा जानकारी गराउने प्रयास गरिरहेको कुलसचिव अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?