सूचनाको हकका लागि राष्ट्रिय महासंघको महाधिवेशन चैतमा

लोकपथ
39
Shares

काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासंघको पहिलो केन्द्रीय महाधिवेशन चैतमा राजधानी काठमाडौंमा हुने भएको छ ।

महासंघ स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा फागुन महिनाभर स्थानीय तह र जिल्ला अधिवेशन गरी चैतमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको अध्यक्ष उम्मीद वागचन्दले जानकारी दिए । विसं २०७८ फागुन २ गते विधिवत्रुपमा महासंघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको थियो ।

अन्य महासंघ पेसागत हकहितका लागि खुलेकामा सूचनाको हकका लागि राष्ट्रिय महासंघ भने नागरिकका हकहित सुरक्षित गर्न खुलेकाले नेपाली नागरिकता पाउने जति सबैले यसको साधारण सदस्यता लिन सक्ने छन् । कार्यक्रममा काठमाडौं उपत्यका प्रदेशका अध्यक्ष ताराबहादुर भण्डारीले राजधानीमा हुने पहिलो केन्द्रीय महाधिवेशनका लागि काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लालाई विशेष भूमिकासहित परिचालन गर्न लागिएको जानकारी दिए ।

महासंघको विधानअनुसार आठवटा प्रदेश छन् । काठमाडौं उपत्यकाका तीन जिल्लालाई विशेष संयोजनका लागि छुट्टै प्रदेशको व्यवस्था विधानमा गरिएको छ । केन्द्रीय महाधिवेशनका लागि हाल स्थानीय तह र जिल्ला अधिवेशन भइरहेको छ । पालिका र जिल्लास्तरका अधिवेशनपछि प्रदेश अधिवेशन गरी केन्द्रीय महाधिवेशन गर्ने तयारी छ ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली २०६५ कार्यान्वयनका लागि महासंघ स्थापना भएको हो । सामान्य किसानसम्मलाई सूचनाको हक प्रयोग गर्नसक्ने गरी जागरण फैल्याउने अभियानमा पनि महासंघले काम गर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

महासंघमा सूचनाको हकका लागि जिल्ला सञ्जाल स्याङ्जा, डडेल्धुरा, कपिलवस्तु, सामुदायिक सारथी काठमाडौं, शिशिर सञ्चार समूह धनुषा, सूचना र मानवअधिकार अनुसन्धान केन्द्र बाँके, सुशासन संघ नेपाल सल्यान, सूचनाको हकका लागि जिल्ला सञ्जाल गोरखा, युवा सरोकार मञ्च बारा, सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की, मोरङ, कैलाली गरी १२ संस्था आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?