गरीबी हटाउनु कर्णालीको मुख्य चुनौती : मुख्यमन्त्री शर्मा

लोकपथ
21
Shares

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको बाटोमा रहेको बताएका छन् । कर्णालीलाई समृद्ध बनाउन निकै चुनौती भए पनि त्यो पूरा गरेरै छाड्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले सदरमुकाम मुसीकोट खलंगामा आज आयोजना गरेको कार्यक्रममा उनले कर्णालीको मुख्य दुस्मन गरीबी रहेको र गरीबी निवारण सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

आफूले पदभार ग्रहण गर्दा एक वर्षमा १० हजार बेरोजगारलाई रोजगारी दिने निर्णयमा हस्तारक्षर गरेको मुख्यमन्त्री शर्माले बताए । रोजगारीसँग जोडेर पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने उनले स्पस्ट पारे ।

‘हामीले गरीबी अन्त्य गर्ने भनेका छौँ, यसका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ’, उनले भने, ‘शिक्षा, स्वास्थ्य र रोजगार, त्यसका लागि भौतिक पूर्वाधार भनेका छौँ ।’ विकटलाई निकट बनाउन प्रदेश सरकारले सडक पूर्वाधारलाई प्राथमिकता दिएको पनि मुख्यमन्त्री शर्माले बताए ।

बर्दियाको भुरिगाउँदेखि चीनको सिमाना ताक्लाकोटसम्म जोड्ने सडक निर्माणलाई प्राथमिकता दिएको उनले जानकारी गराए ।

लुम्बिनी प्रदेशदेखि चीनको सिमानासम्म सडक जोडेर कर्णाली प्रदेशलाई सुगम बनाउन व्यवस्थित सडक बनाउने, कर्णाली करिडोर र भेरी करिडोरलाई डोल्पाको धोसम्म पु¥याउने, मध्यपहाडी लोकमार्गलाई टनेलबाट जुम्ला पु¥याउने, राप्ती राजमार्गलाई रुकुम पश्चिमको छरेवगरसम्म व्यवस्थित गर्ने र लुम्बिनीदेखि रारा जोड्ने योजनालाई प्राथमिकता दिइएको मुख्यमन्त्री शर्माले उल्लेख गरे ।

कर्णालीमा राजनीतिक संघीयता आए पनि वित्तीय र प्रशासनिक संघीयता अझै आइनसकेको समेत उनले बताए । मानव सूचकांकमा पछाडि परेको कर्णालीलाई माथि उठाउन संघीयता व्यवहारमै लागू हुनुपर्ने उनको भनाइ छ ।

साधन स्रोतका आधारमा कर्णाली निकै सम्पन्न भए पनि त्यसको परिचालन सहीरुपमा हुन नसक्दा कर्णालीले लाभ लिन नसकिरहेको उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?