बागलुङ । उज्यालो नहुँदै डोकोमा दूध बोकेर बजार हिँड्छन् ७० वर्षीय मोतीलाल सापकोटा । विसं २०५० देखि उहाँको दैनिकी यसरी नै चलेको छ ।
उमेर ढल्के पनि बागलुङ नगरपालिका–३ बोक्सेका सापकोटाको जाँगर भने उस्तै छ । दूध बोकेर बजार आउन डेढ घण्टा लाग्छ । दूधसँगै घरमा उब्जेको तरकारी पनि बिक्रीका लागि संगै लिएर बजार पुग्छन् मोतिलाल ।
‘बागलुङ बजारमा दूध बेच्न लागेको २५ वर्ष भयो’, सापकोटा भन्छन्, ‘दूध र तरकारी गरेर मासिक ५० हजार जति कमाइ हुन्छ ।’
सापकोटाको घरमा तीन भैँसी छन् र चार रोपनी जग्गामा तरकारी खेती हुन्छ । ‘दैनिक १० लिटर दूध बेच्छु’, उनी भन्छन्, ‘दूधसँगै तरकारी पनि बेच्छु ।’ बिहानै बजारका घर र डेरा गरी बस्नेका कोठाकोठामा उनी दूध पुर्याउनुहुन्छ । इच्छा हुनेले तरकारी पनि सापकोेटाबाटै किन्छन् ।
बजारमा उनीसँग दूध किन्ने नियमित ग्राहक छन् । कसैले एक लिटर त कसैले आधा लिटर दूध दैनिक राख्छन् । पैसा भने महीनाभरको एकैसाथ बुझाउँछन् । बिहानभर बजारमा दूध, तरकारी बेचेपछि खाना खाने समयमा सापकोटा घरै पुग्छन् र बाँकी दिन भैँसी र तरकारीबालीको रेखदेख तथा स्याहारमै बित्छ ।
साधारण खेती किसानी बाउबाजेबाटै सिक्नुभएका उनले दूध बेच्दा कमाइ हुन थाले पनि भैँसीपालनलाई व्यावसायिक बनाएका हुन् । ‘तीन-चार वटा भन्दा धेरै भैँसी बढाएको छैन’, सापकोटा भन्छन्, ‘मलाई यति नै ठिक्क छ, तरकारीबाट पनि राम्रै आम्दानी भइरहेको छ ।’
गोलभेँडा, साग, बन्दा, काउली, करेला, धनियाँलगायत तरकारी उब्जाउ गर्दै आएका उनलाई टनेल बनाउन केही वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुदान दिएको थियो ।
केही समय काममा सघाउन एक मजदूर राखे पनि अहिले सापकोटा आफैंले सबै काम धान्दै आउनुभएको छ ।
‘श्रीमती र बुहारीले पनि सघाउँछन्, धेरैजसो काममा म आफैं खटिन्छु’, सापकोटा भन्छन्, ‘७० वर्षको भएँ, अझै मेहनत र परिश्रम गर्नुपर्छ भन्ने सोँच आउँछ ।’ बुढ्यौलीमा पनि कृषि पेशाप्रति उहाँको लगाव देखेर अरु गाउँले पनि प्रेरित छन् ।
स्वास्थ्यले साथ दिउञ्जेलसम्म कृषि पेशा नै गर्ने सापकोटाको अठोट छ । व्यक्तिगत लगानी, श्रम र मेहनतकै भरमा उनी कृषिमा टिक्न सफल भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया