नेत्रज्योति संघ र सीबीएमबीच सहकार्य सम्झौता

लोकपथ
26
Shares

काठमाडौं । नेपाल नेत्रज्योति संघ र सीबीएम ग्लोबलबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । प्रदेश नम्बर १ र मधेश प्रदेशमा गरीबिको रेखामुनी रहेका आम नागरिकहरुलाई गुणस्तरीय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि दुई संस्थाहरुका बीचमा सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र सीबीएम ग्लोबलका तर्फबाट कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द, सदस्य पद्मनारायण चौधरी तथा सिबिएम ग्लोबलका, कन्ट्री डाइरेक्टर सुरज सिग्देलको उपस्थिति थियो ।

सीबीएम ग्लोबलको सहयोगमा नेत्रज्योति संघको पुर्वाञ्चल क्षेत्रीय आँखा तथा कान उपचार कार्यक्रममार्फत प्रदेश नम्बर १ र मधेश प्रदेशका सिमान्तकृत समुदायका र गरीबिको रेखामुनी रहेका नागरिकहरुलाई निःशुल्क रुपमा आँखा तथा कान उपचार सेवा प्रदान गरिने छ । दुई संस्थाहरु बीचको सहकार्यमा आँखा तथा कान उपचारको पहुँचबाट टाँढा रहेका सो क्षेत्रका नागरिकहरुलाई आँखा अस्पताल, आँखा उपचार केन्द्रहरु तथा बाह्य कार्यक्रम मार्फत उपचार सेवा प्रदान गरिने संघले जनाएको छ ।

नेत्रज्योति संघ र सीबीएम ग्लोबलका बीचमा नेपालमा आँखा उपचार सेवालाई जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरीय सेवा प्रदान गर्न विगत ४० वर्षदेखि सहकार्य भइरहेको छ । ‘हाम्रो ४० वर्षदेखिको सहकार्यमा यो सम्झौताले थप इट्टा थप्ने काम गरेको छ र यो कार्यक्रमको कार्यान्वयनले सो क्षेत्रका नागरिकहरुले आफ्नो घर आँगनमै निःशुल्क आँखा तथा कान उपचार सेवा प्राप्त गर्नेछन् ।

जसले उनिहरुको आर्थिक सामाजिक जिवनमा ठूलो परिवर्तन ल्याउने हाम्रो विश्वास छ’ नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले भने । सम्झौतापछि बोल्दै सीबीएम ग्लोबलका कन्ट्री डाइरेक्टर सुरज सिग्देलले नेपालको आँखा उपचार र अन्धोपन नियन्त्रणको क्षेत्रमा गरिरहेका उत्कृष्ट कामकै कारण विगत ४० वर्षदेखि विभिन्न कार्यक्रम मार्फत नेत्रज्योति संघसंग सहकार्य गरिरहेको भन्दै उनले आगामी दिनहरुमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण गर्ने नेत्रज्योति संघको लक्ष्यलाई यो सहकार्यले ठुलो सहयोग पुर्याउने नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्त बताउँछन् । अहिले पनि नेपालमा कतिपय जनताहरु आर्थिक अभावकै कारण दृष्टिबिहिनतामा बसिरहेको भन्दै उनले यस्तै संघ संस्थाहरुको सहकार्यमा नेपालबाट २०३० सम्ममा उपचार पछि निको हुने अन्धोपननको निवारण हुने विश्वास व्यक्त गरे ।

हाल कर्णाली प्रदेशमा नेत्रज्योति संघ र सीबीएमको सहकार्यमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम संचालनमा छ । उक्त कार्यक्रमबाट सन् २०२२ मा मात्र ३ हजार ८० जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।

संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरीबिको रेखामुनी नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?