काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रति कटाक्ष गरेका छन् ।
मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा अनेरास्ववियुको २३औँ महाधिवेशनलाई उद्घाटन गर्दै ओलीले नेविसंघ अनेरास्ववियुबाट फुटेर बनेको संगठन रहेको भन्दै कटाक्ष गरेका हुन् ।
‘नेविसंघ भनेको अनेरास्ववियसँग जित्न नसकेर ०२६ सालमा निहुँ खोजेर अलग भएर ०२७ सालदेखि अलग्गै संगठनको रुपमा काम गरेको थियो । ०२६ सालमा अनेरास्ववियु फुटाएर नेविसंघ बनाएको । अनेरास्ववियुभित्र लड्न नसकेर अट्न र टिक्न नसकेर भागेको संगठन हो ।’ ओलीले भने ।
त्यस्तै आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा नेविसंघ लगायत संगठनलाई हराउने गरी तयारी गर्न समेत निर्देशन दिए ।
‘उनीहरुले अहिले जित्ने ओर्ने बेला भएको छैन । अहिले उनीहरुले सिक्ने हो । नेविसंघलाई हामीले जहिले पनि छक्का हान्दिने गरेको हो । त्यसकारण मैले विश्वास लिएको छु ब्याटिङ राम्रो हाननुहुनेछ ।’ उनले भने ।
त्यस्तै नेपाली कांग्रेसले पञ्चायतलाई स्वीकार गरेको आरोप समेत लगाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनमत संग्रहमा कांग्रेसले पञ्चायतलाई स्वीकारेको कारण कांग्रेसी नेताहरु जेलमा नपरेको दाबी गरे । त्यस्तै आफूहरुले पञ्चायतविरुद्ध आवाज उठाएका कारण नै जेलमा परेको जिकिर गरे ।
‘पञ्चायलाई धाँधली गरेर जिताइसकेपछि कम्युनिष्टले होइन कांग्रेसले त्यसलाई स्वीकार गर्यो । जनमत संग्रहमा पञ्चायतले जितेको थिएन, जिताइएको थियो ।’ ओलीले भने, ‘कांग्रेसले पञ्चायत स्वीकार गरे जेल बसेन, हामी पञ्चायन नमानेको कारण जेलमा बस्यौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया