काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति खोज्न शीर्ष नेताको प्रयास जारी छ ।
लामो रस्साकस्सीपछि मंगलबार राति शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा सहमति भएको थियो । उक्त सहमतिमा बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा केही केन्द्रीय सदस्यले समावेशीतालाई सम्बोधन गर्नुपर्ने माग गरेपछि त्यसलाई समेट्नेबारेमा छलफल जारी छ ।
शीर्ष नेतृत्वले यसअघि विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहने र कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने सहमति गरेको थियो । साथै कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने र कूल १६१ सदस्यीय केन्द्रीय समिति हुने सहमति भएको थियो ।
देउवाले पदाधिकारी मनोयनको प्रस्तावपछि विवाद
तर, विहिबार सभापति शेरबहादुर देउवा सहमतिबाट पछि हटेपछि कांग्रेसमा पदाधिकारी संख्या र निर्वाचन पद्धतिको विवाद चर्किएको छ ।
देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग एक उपसभापति र एक महामन्त्री मनोनीत गर्नुपर्ने प्रस्ताव राखेका छन् । यसअघि कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्न तयार भएका देउवाको उक्त प्रस्ताव पौडेल-सिटौला पक्षले अस्वीकार गरेको थिए ।
पौडेल-सिटौला पक्ष मात्र होइन देउवानिकट केही सदस्यसमेत असन्तुष्ट बनेका छन् ।
कांग्रेस विधानमा राख्ने पदाधिकारीका विषयमा बिहीबार साँझ फेरि अर्को प्रस्ताव आएको छ । जसअनुसार एक सभापति, दुई-दुई जना उपसभापति र महामन्त्री, सात जना सहमहामन्त्री र एक जना कोषाध्यक्ष गरी १३ जनाको नयाँ प्रस्ताव आएको हो ।
महासमितिको सातौँ दिनसम्म पनि पदाधिकारीमा सहमति नजुटेपछि महासमिति धकेलिँदै गएको छ । नेताहरू पदाधिकारीमा सहमति जुटाउन दिनभर व्यस्त भएकाले बिहीबार महासमिति बैठक डेढ घण्टा मात्रै चलेर स्थगित भयो ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
पदाधिकारी चयन लगायत विषयमा सहमति जुटाउन केन्द्रीय कार्य समितिको बैठक बस्दै छ । संस्थापन पक्ष र पौडेलपक्षबीच सहमति हुन नसकेपछि विहिबार बिहानका लागि बोलाइएको बैठक बस्न सकेन ।
यद्यपि, दुवै पक्षका शीर्ष नेताबीच पदाधिकारी चयन लगायतका विषयमा भने अनौपचारिक छलफल थियो । विवादित विषयमा सहमति जुटाउन केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
महासमिति बैठक पार्टी केन्द्रीय कार्यालयमा
काङ्ग्रेस महासमिति बैठक बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । गत मङ्सिर २९ गतेदेखि जारी महासमिति बैठक बुधबारसम्म सिंहदरबार पश्चिम गेटअघिको एक पार्टी प्यालेसमा हुँदै आएको थियो । महासमिति बैठकका लागि पार्टी प्यालेसमा रिजर्भ गरिएको निर्धा्रित समय समाप्त भएपछि बैठक स्थल सारिएको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमितिको निर्धारित बैठक अवधिमा छलफल गर्न समय अपर्याप्त भएकाले बैठक लम्बिएको बताए । गत मङ्सिर २९ गतेदेखि शुरु महासमिति बैठकमा निर्धारित अवधिभन्दा थप तीन दिन लम्बिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया