नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा के-के भयो छलफल ?

लोकपथ
21
Shares

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतीय परराष्ट्र सचिव विनय क्वात्राले सोमबार उच्चस्तरीय भेटवार्ता गरे ।

यस्तै दुई परराष्ट्र सचिवबीच बिहान सम्पन्न वार्तामा विकास साझेदारी, ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता–जनताबीचको सम्बन्ध लगायत भारत र नेपालबीचको बहुआयामिक सहयोगका विविध पक्षबारे व्यापक छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

गत वर्ष प्रधानमन्त्रीको भ्रमणका क्रममा अन्तरदेशीय कनेक्टिभिटी, जलविद्युत सहयोग, संस्कृति, व्यापार तथा वाणिज्य लगायत विविध क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा भएको प्रगतिको पनि दुवै परराष्ट्र सचिवले समीक्षा गरेका थिए ।

यस्तै रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्था–बिजलपुर–बर्दिबास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने सहमति जनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

साथै दुई पक्षबीच प्रस्तावित रक्सौल–काठमाडौं रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई दु्रतरुपमा अगाडि बढाउने सहमति पनि भएको छ ।

यसबाहेक दुवै पक्षले गत वर्ष ऊर्जा सहकार्यमा भएको प्रगतिको चर्चा गरिएको थियो । जस अन्तर्गत नेपाल अहिले ४५२.६ मेगावाट विद्युत भारततर्फ निर्यात गर्न सक्षम भएको छ ।

नेपाली पक्षले दीर्घकालीन रुपमा भारततर्फ विद्युत निर्यातका लागि मार्गप्रशस्त गर्न भारतीय पक्षसँग अनुरोध गरेको छ । भारत र नेपालबीचको उर्जा व्यापारलाई थप सुदृढ बनाउन विनिमय बजारका सबै उत्पादनलाई उपयोग गर्न पनि नेपाली पक्षले भारतलाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय पक्षले नेपाली पक्षबाट भएको दुवै अनुरोधलाई जानकारीमा राखेको जनाएको छ । यसैगरी सन् २०२२ अप्रिलमा भारत र नेपालबीच भएको ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै दुई देशका परराष्ट्र सचिवले उपक्षेत्रीय सन्दर्भमा पारस्परिक लाभकारी सहकार्यका लागि हातेमालो गर्ने सहमति जनाएका छन् ।

विश्वमा व्याप्त कठिनाईको समयमा नेपालमा कृषि उत्पादनको सहज आपूर्तिलाई सुनिश्चित गर्न चिनी, गहुँ र धानको निर्यातमा भारतले गरेका विशेष व्यवस्थालाई नेपाली पक्षले सराहना पनि बैठकमा गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै दुई परराष्ट्र सचिवबीच बहुपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा पनि छलफल भएको छ।

दुई देशबीच हुदै आएको उच्चस्तरीय भेटवार्ताको परम्परा अुनुरुप यो भ्रमण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?