सार्वजनिक बिदाका नाममा अराजकता भयो, कानुन बनाऔँ : गगन थापा

लोकपथ
35
Shares

काठमाडौं । सरकारले आज जनयुद्ध दिवसको अवसरमा बिदाको घोषणा गरेको विषयमा यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।

सो क्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुमाउरो भाषामा त्यसको विरोध जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै महामन्त्री थापाले अब तत्काल संसदमा सार्वजनिक बिदा निश्चित गर्नुपर्ने विषय राख्नुपर्ने माग राखेका छन् ।

सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब बढाउने वा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिँदै त्यसको नेतृत्व कांग्रेसले गर्ने बताए ।

‘अब संसदमा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौँ। सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिउँ । यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ ।’ जारी वक्तव्यमा भनिएको छ ।

देशको कार्यकारी अधिकार पाएको व्यक्तिले आफ्नो स्वेच्छाचारिताका आधारमा बिदा दिने कुरालाई व्यवस्थापिकाले रोक्नुपर्ने उनको धारणा रहेको छ । अन्य देशको उदाहरण दिँदै त्यहाँ कानुन नै बनाएर बिदा तय गरिने गरिएको भन्दै नेपालमा पनि कानुन निर्माण गर्न नसकिएमा बिदाको स्वेच्छाचारिता झन बढ्दै जाने उनले बताएका छन् ।

‘कार्यकारीको यस्तो स्वेच्छाचारितालाई नियमन गर्न उसैलाई जिम्मा दिनुको के अर्थ? कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले हो। यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ। न्युजिल्यान्ड, जापान लगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदा सम्बन्धी कानुन छ, त्यसैका आधारमा बिदा तय गरिन्छ। नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ ।’ उनले भनेका छन् ।

नेपालमा प्रदेश र स्थानीय तहले राजनीतिक स्वार्थका लागि पार्टीका कार्यक्रम र पारिवारिक विषयमा पनि सजिलै सार्वजनिक बिदाको नामले अराजकता मैलाएको बताए ।

‘पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ। कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि ।’ उनले भनेका छन्, ‘झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन्। यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो। सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो!’

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएसँगै सत्ता साझेदारसहित विपक्षी दलबाट समेत त्यसको विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?