इन्टरपोलको सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

लोकपथ
52
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह इन्टरपोलको २४ औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी भई आज स्वदेश फिर्ता भएका छन् ।

संयुक्त अरब इमिरेट्सको अबुधाबीमा यही २४ गतेदेखि शुरु भएको इन्टरपोलको २४ औँ एसियाली क्षेत्रीय सम्मेलनमा नेपालका तर्फबाट प्रहरी महानिरीक्षक सिंहको नेतृत्वको टोली सहभागी भएको थियो । उनले उक्त सम्मेलनमा एसियाली राष्ट्रका प्रहरी संगठन मजबुत बनाउने र इन्टरपोललाई थप सक्रिय बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

प्रहरी महानिरीक्षक सिंहले एसियाली देशहरूबाट आतंकवाद निर्मूल पार्ने, मानव बेचबिखन नियन्त्रण तथा पछिल्लो समयमा विश्वव्यापी समस्याका रुपमा देखापरेको साइबर अपराध र साइबर सुरक्षामा एकताबद्ध अघि बढ्ने विषयमा छलफलमा भएको जानकारी दिए ।

इन्टरपोल स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रले यसलाई विशेष रुपमा मनाउने निर्णय गरिएको र नेपाल सयौँ सदस्य राष्ट्रसमेत भएकाले सोही अवसरमा नेपाल प्रहरीले आईजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना गरिसकेको पनि उनले बताए ।

हाल इन्टरपोलको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका दुई अधिकृतहरू सिङ्गापुर र लियोनमा कार्यरत रहेको स्मरण गर्दै उनले नेपाल प्रहरीकै लागि गौरवको विषय भएको बताए । महानिरीक्षक सिंहले नेपाल प्रहरी इन्टरपोलको सदस्य भएकै कारण गल्फलगायत विभिन्न देशमा लुकेर रहेका अभियुक्तहरूलाई इन्टरपोलको सहायताबाट पक्राउ गरेर ल्याउन सफल भएको पनि बताए ।

सम्मेलनको दौरानमा प्रहरी महानिरीक्षक सिंहले इन्टरपोलका अध्यक्ष मेजर जनरल अहमद नासिर अल–रइसी र महासचिव जर्गन स्कटलगायत इन्टरपोलका पदाधिकारीहरुसँग भेटघाट गरेका थिए । साथै, सम्मेलनका क्रममा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन भारत, चीन र दक्षिण कोरियालगायतका मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता एवम् औपचारिक र अनौपचारिक छलफल भएको पनि उनले उल्लेख गरे ।

नेसनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौं नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरा सहभागी थिए । यसअघि इन्टरपोलको २३ औँ एसियाली सम्मेलन सन् २०१७ मा काठमाडौंमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?