अस्पतालहरुमा नर्सको हाहाकार, ३२ हजार विदेशिँदा २४ हजार बेरोजगार

काठमाडौं । एकातिर श्रम शोषण अनि अर्कातर्फ नर्सको पीडाबोध नगर्ने सरकारका कारण वर्षेनी हजारौँ नर्स नेपाल छाड्न बाध्य छन् । नेपाल नर्सिङ काउन्सिलका अनुसार हालसम्म ३२ हजार नर्सले रोजगारीको खोजीमा नेपाल छाडिसकेका छन् ।

झण्डै १५ लाख रुपैयाँ खर्चेर अध्ययन गरेका नर्सहरु दैनिकजसो यसरी बाहिरिँदा पनि सरकार भने बेखबर जस्तै छ । राज्यले न नर्समाथि शोषण गरेको देख्छ, न त विदेशीने नर्सलाई रोक्न नै सक्छ ।

उल्टै वैदेशिक रोजगारीका लागि बेलायत लगायतका देशमा पठाउन बाटो खुलाउनेतर्फ सरकारको ध्यान केन्द्रित देखिन्छ । सरकारले समाएको यो बाटो गलत भएको काउन्सिलकी अध्यक्ष सरला केसी बताउँछिन् ।

‘नेपालमा अहिले नै नर्सको खडेरी जस्तै छ । एकजना नर्सले २० देखि ३० जना बिरामी हेर्नुपर्ने बाध्यता छ,’ लोकपथसँगको कुराकानीमा उनले भनिन्, ‘सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले बनाएको रणनीतिक योजनामा २०३० सम्म हामीलाई ७० हजार नर्स आवश्यक पर्छ भनिएको छ त्यसैले नर्सलाई नेपालमै अवसर दिनुपर्छ ।’

काउन्सिलका अनुसार पुस महिनासम्म नेपालमा १ लाख १० हजार ५ सय २४ जना नर्स नेपाल नर्सिङ परिषद्मा दर्ता भएका छन् । यीमध्ये सरकारी र निजीमा गरेर ५४ हजार ४ सय नर्स रोजगार छन् । त्यसमा पनि १२ हजार नर्स सरकारी स्थायी दरबन्दीमा कार्यरत छन् भने २२ हजार ४ सय करारमा काम गरिरहेका छन् । करिब २० हजार नर्सले निजी अस्पतालमा सेवा दिइरहेको काउन्सिलकी अध्यक्ष केसीले लोकपथलाई जानकारी दिइन् ।

परिषद्का अनुसार विदेशिएका मध्ये अधिकांश नर्स अमेरिका, बेलायत, जापान, इजरायल, कतार लगायतका मुलुकमा पुगेका छन् । यद्यपि, कुन देशमा कति नर्स छन् भन्ने एकिन डाटा काउन्सिलसँग पनि छैन । काउन्सिलले सफ्टवेयरमार्फत व्यवस्थापन गर्न लागेको उनले बताइन् ।

‘कुन देशमा कति नर्स छन् भन्ने यकिन तथ्यांक त छैन अहिलेसम्म १२ हजारका हाराहारीमा अमेरिकामा रहेको पाइएको छ,’ लोकपथसँगको कुराकानीमा उनले भनिन्, ‘हामीले नेपालमा अहिले रोजगार रहेका, विदेशिएकाहरुको तथ्यांक संकलन गरी त्यसलाई व्यवस्थित गर्न सफ्टवेयरको विकास गरिररहेका छौँ । निकट भविष्यमा नै त्यो यकिन डाटा दिन हामी सक्छौँ ।’

२४ हजार नर्स बेरोजगार

काउन्सिलले दिएको तथ्यांकअनुसार नेपालमा अझै २४ हजारभन्दा बढी नर्स बेरोजगार रहेको पुष्टि हुन्छ । यद्यपि, अहिलेसम्म नर्सले आफू बेरोजगार भएँ भनेर काउन्सिलमा उजुरी दिन नआएको केसी बताउँछिन् ।

‘हामीकहाँ श्रम शोषणमा परियो भन्ने उजुरी चाहिँ आएको छ तर अहिलेसम्म काम पाइएन, बेरोजगार भइयो भन्ने उजुरी चाहिँ प्राप्त भएको छैन,’ केसीले भनिन्, ‘२४ हजारमध्ये कतिले अवकास लिनुभयो, कतिको मृत्यु भयो होला अब हामी केही महिनाभित्रै यकिन डाटा सार्वजनिक गर्छौँ ।’

सरकारी दरबन्दी नै खाली !

नेपालमा नर्सको ३९ प्रतिशत सरकारी दरबन्दी खाली रहेको सरकारी तथ्यांक छ । जसमा संघीय सरकारअन्तर्गत १३ अस्पतालमा दुई सय पाँच दरबन्दी खाली रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशकै ठूलो अस्पताल वीर अस्पतालमा पनि ५२ जना नर्सको दरबन्दी खाली छ । त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा १५४ स्वीकृत दरबन्दी मध्ये ४५ दरबन्दीमा पदपूर्ति हुन सकेको छैन । यस्तै, अन्य अस्पतालमा पनि दरबन्दी खाली छ । यसरी सरकारी स्तरबाट पदपूर्तिमा चासो नदेखाउनु, निजी क्षेत्रले श्रम शोषण गर्ने भएकाले नर्सहरु विदेशिन बाध्य भएको परिषद्की अध्यक्ष केसी बताउँछिन् ।

सरकारी अस्पतालमा पनि दरबन्दी पदपूर्ति नहुँदा नर्समाथि बिरामीको चाप बढ्दो छ । एकजना नर्सको काँधमा दर्जनबढी बिरामीको भार रहेको छ ।

यसरी रिक्त रहेको दरबन्दी पूरा गर्न सरकारले तदारुकता नदेखाउँदा नर्सहरु आजित भएर विदेशिन बाध्य हुन परेको नेपाल नर्सिङ परिषद्की सदस्य भारती सापकोटा बताउँछिन् ।

एकातिर निजी अस्पतालको कम पारिश्रमिक र अर्कातर्फ सरकारी अस्पतालमा कोटा खाली हुँदा नर्सहरु नेपालमा भविष्य नदेखेर विदेशिन बाध्य रहेको उनी सुनाउँछिन् । त्यसका लागि सरकारले नर्सलाई प्राविधिक सेवा तर्फका कर्मचारीलाई तोकेका तलब दिनका लागिका पहल गर्नुपर्ने उनको माग छ ।

तर, सरकार भने नर्समाथि भएको शोषणका बारेमा बेखबर झैं छ । ‘सरकारले त नेपालमा कति नर्स उत्पादन भइरहेका छन्, कति रोजगार छन् कति बेरोजगार र कति विदेशिएका छन् भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘अहिले अस्पतालमा नर्स छैनन् तर थुप्रै नर्स बेरोजगार छन् ।’

यसै सन्दर्भमा नर्सको रिक्त स्थानमा कहिले पदपूर्ति गर्नुहुन्छ भन्ने लोकपथको प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरिले ‘दरबन्दी खाली हुनु दुःखद हो । यसबारेमा म बेखबर छु । तत्काल बुझेर पदपूर्तिको प्रक्रिया थाल्छु । खाली भए तुरुन्तै पूरा गर्छु’ भन्ने प्रतिवद्धता जनाए ।

याे पनि पढ्नुहाेस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?