अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि

लोकपथ
56
Shares

काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि हुने भएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियुले आफ्नो २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा गर्ने जानकारी दिएको हो ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ हुन लागेको महाधिवेशनको फागुन २ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले अनेरास्ववियुको आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिने बताइन् । उनले सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेमा विद्युतिय मतदानबाट निर्वाचन गर्नेगरी प्रवन्ध मिलाइएको जानकारी दिइन् । उनले महाधिवेशनबाट १९९ जनाको केन्द्रिय कमिटी निर्वाचित हुने बताइन् । त्यस्तै अनुशासन, लेखा र निर्वाचन आयोगमा अध्यक्ष, सचिव र सदस्यसहित १५ जनाको समिति निर्वाचित गरिने जानकारी दिइन् ।

उनले भनिन् – ‘यो महाधिवेशनको मुख्य उद्देश्य भनेको नेतृत्व छनोट गर्ने कुरा हो । हामी यो महाधिवेशनबाट १९९ जनाको केन्द्रिय कमिटी र ३ वटा आयोगहरु निर्वाचित गर्छौं । ३ वटा आयोगमा अध्यक्ष, सचिवसहितको १५ जनाको टिम बन्छ । अध्यक्ष, सचिवसहित सदस्यहरु १३ जनाको हुन्छन् । सकेसम्म सर्वसम्मत बनाएर नेतृत्व छनोट गर्ने प्रयास गरिन्छ । सर्वसम्मत नभएका ठाउँहरुमा वा पदहरुमा निर्वाचन गर्नका लागि हामी तयार छौँ । हामीले मतदानमा पुग्नुपर्ने परिस्थिति निर्माण हुँदाखेरी विद्युतिय मतदानबाट निर्वाचन गर्नेकुराको प्रवन्ध मिलाइसकेका छौँ ।’

कार्यक्रममा बोल्दै अध्यक्ष बरालले राज्य व्यवस्थालाई बलियो बनाउनका लागि स्ववियु निर्वाचन आवश्यक रहेको बताइन् । विश्वविद्यालयहरुका नीतिगत निर्णयहरुमा हस्तक्षेप गर्नका लागि स्ववियु निर्वाचन चाहिने उनको भनाई छ । क्याम्पस प्रशासनहरुबाट विद्यार्थीहरुको भावनालाई सम्बोधन गराई निर्णय गराउनपनि स्ववियुको आवश्यकता रहेको उनले बताइन् । अध्यक्ष बरालले आफूहरु स्ववियु निर्वाचनको पक्षमा रहेको र त्यसको तयारीमा लागेको पनि बताइन् ।

उनले भनिन् – ‘अनेरास्ववियुका लागि स्ववियु निर्वाचन सबैभन्दा माथिको विषय हो । हाम्रो संगठनको जीवनलाई व्यवस्थित गर्दै अगाडी बढ्ने क्रममा पनि हामीले एउटा निर्णय गरिसकेका छौँ । अनेरास्ववियुको २३ औँ महाधिवेशन सम्पन्न गर्ने क्रममा पनि हामी स्ववियु निर्वाचनलाई नै शिरमा राखेर काम गर्यौँ । प्रतिनिधि छनौट, संगठनका प्रचारका कामहरुलाई हामीले स्ववियु निर्वाचनको मुद्दा सँगसँगै एकाकार गरेर लिएर गएका छौँ । स्ववियु निर्वाचन विद्यार्थी संरचनासँग जोडिएको मात्रै कुरा होइन । यो देशको राज्यव्यवस्थालाई बलियो बनाउनका लागि पनि स्ववियु निर्वाचन चाहिन्छ । विश्वविद्यालयका नीतिगत विषयहरुमा हस्तक्षेप गर्नका लागि पनि स्ववियु निर्वाचन चाहिन्छ । विश्वविद्यालयले गर्ने नीतिगत निर्णयमा विद्यार्थीको उपस्थिति र प्रतिनिधित्व हुनका लागि पनि स्ववियु निर्वाचन चाहिन्छ । र हाम्रा क्याम्पस प्रशासनहरुमा साझा प्रतिनिधित्वका साथ उपस्थिति हुने र त्यहाँ विद्यार्थीको भावनालाई सम्बोधन गर्नेगरी निर्णय गर्नका लागि पनि स्ववियु निर्वाचन चाहिन्छ भन्ने कुरामा अनेरास्ववियु प्रष्ट पनि छ । र यो विषयमा दृढतापूर्वक अगाडी बढेको छ ।’

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा देशभरका क्याम्पसहरुबाट १ हजार पाँचसयभन्दा बढी प्रतिनिधिहरुको उपस्थिति हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?