राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीको माग गर्दै आयोगमा निवेदन

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेज गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै युवराज सफलले निवेदन दर्ता गराएका हुन् ।

निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता १८७ रही दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रुपमा अवैधानिक तथा अयोग्य रहेको सो दल दर्ता खारेजीको माग गरिएको छ ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. (२)को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ । यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा जिकिर गरिएको छ ।

पार्टीले दर्ता हुनको लागि पुरा गर्नुपर्ने न्यूनतम मापदण्ड नै पूरा नगरी दर्ता गरेकोले तत्काल सो पार्टीको दर्ता खारेज गरी सो पार्टीका तर्फबाट सञ्चालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?