सुदूरपश्चिमका मुख्यमन्त्री शाह र सभापति देउवाबीच भेट

लोकपथ
221
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ । आइतबार बिहान सभापति देउवा निवास धुम्बाराहीमा छलफल भएको हो । मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक काठमाडौं आइपुगेका शाहले देउवासँग भेट गरेका हुन् ।

मुख्यमन्त्री शाहले कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, केन्द्रीय सदस्य आरजु राणा देउवासँगसमेत भेट गरेका छन् । नेकपा एमाले नेतृत्वको सरकार विश्वासको मत नपाएर ढलेपछि शुक्रबार मुख्यमन्त्री बनेका शाह आइतबार काठमाडौं आइपुगेका हुन् ।

भेटका क्रममा समसामयिक पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशको विकास निर्माणका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयका मोहनराज जोशीले लोकपथलाई जानकारी दिए । पदभार ग्रहण गरेसँगै आफूले सबै दललाई समेटेर सहमतिमै स्थिर सरकार निर्माण हुने मुख्यमन्त्री शाहले विश्वास व्यक्त गरेका थिए ।

शनिबार नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँग भेटवार्ता गरेका मुख्यमन्त्री शाहले आइतबार बिहान देउवासँग भेटवार्ता गरेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका शाहलाई विश्वासको मत सिद्ध गर्न नागरिक उन्मुक्ति पार्टी वा माओवादी केन्द्रको साथ चाहिने छ । मुख्यमन्त्री शाहलाई कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदको साथ छ ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन हुनुपर्छ । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?