भरतपुर । सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकता अनुसार विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९ औँ वार्षिकोत्सवमा उनले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने बताए ।
‘आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम गर्छु’, उनले भने, ‘कसैलाई काखा र कसैलाई पाखा नगरी समान दृष्टिले विकासका योजना अघि बढाउँछु ।’ फरक प्रसंंगमा मन्त्री पाण्डेले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धी बनाउने गरी काम गर्नुपर्ने समय आएको बताए ।
यसका लागि फरक सोचका साथ विद्यालयलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो । यसैबीच नारायणी नदी किनारमा जारी साङ्ग–विराट–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको आज सहरी विकासमन्त्री विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अवलोकन गरेको छ ।
पाण्डे र लामिछाने आउने भएपछि महायज्ञमा दिनभर भक्तजनको बाक्लो भीड लागेको थियो । महायज्ञको अवलोकनपछि मन्त्री पाण्डेले सनातन धर्मको रक्षाका लागि सरकारले गौवनको व्यवस्था गर्नुपर्ने बताए । धर्म संस्कृतिको संरक्षणका लागि कोटिहोम महायज्ञ महत्वपूर्ण भएको उनले बताए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले नारायणी किनार जस्तो पवित्रस्थलमा भएको धार्मिक अनुष्ठानले सनातन धर्मको संरक्षणमा टेवा पुग्ने बताए । गृह मन्त्रालयमा ३२ दिन रहँदा आफूले दर्जनौँ आमाबुबाको समस्या सम्बोधन गरेको उनले बताए । आफूलाई विरोधीले देश निकाला गर्नेदेखि ज्यान नै मार्नेसम्मको योजना बनाएको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया