ऐन निर्माण र कार्यान्वयनमा सरकारले ध्यान दिएको छ : सञ्चारमन्त्री शर्मा

लोकपथ
26
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताएकी छन् ।

उनले आगामी वर्षको बजेटमा जनतालाई परिवर्तनको अनुभूति हुनेगरी विशेष प्राथमिकताका कार्यक्रम समावेश गर्नेगरी काम भइरहेको जानकारी दिइन् । दाङको भालुवाङ्गमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारका प्रवक्ता शर्माले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउनेतर्फ सरकारले ध्यान दिएकोसमेत बताइन् ।

वर्तमान सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समावेश गर्ने विषयमा पनि छलफल अघि बढेको मन्त्री शर्माले जानकारी दिइन् । मन्त्री शर्माले सूचना प्रविधिसँग जोडिएका नयाँ ऐन निर्माण र कार्यान्वयनमा सरकारले ध्यान दिइएको बताइन् । उनले पुराना ऐन कानुनबाट चल्नुपर्ने बाध्यता रहेकाले त्यस्ता ऐन तथा कानुन विस्थापन र नयाँ ऐन कानुन निर्माण गरेर अघि बढ्ने जिम्मेवारी रहेको बताइन् ।

बदलिँदो समाज र सूचना प्रविधिले केही चुनौती थपेको बताउँदै उनले अनलाइन मिडियाको नियमन र व्यवस्थापनमा सरकारले ध्यान दिएको बताइन् । उनले प्रेस काउन्सिल जस्तै मिडिया काउन्सिलको आवश्यकता परेकोसमेत बताइन् । कार्यक्रम महासंघ प्रदेश अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?