रेशमको घरमै पुगेर मुख्यमन्त्री शाहले भने– ‘जेलमुक्त गर्न पहल गर्छु’

लोकपथ
525
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भेटका क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घरमै पुगेका छन् । मुख्यमन्त्री नियुक्त भएपछि पहिलो पटक उनी कैलालीको जानकी गाउँपालिका ६ जगतपुरस्थित चौधरीको निवासमा पुगेका हुन् ।

शनिबार बिहान उनले चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई भेटेर काठमाडौंको डिल्लीबजार कारगारमा रहेका रेशमलाल चौधरीको रिहाइका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री शाहले टीकापुर घटना राजनीति आन्दोलनका क्रममा घटेको घटना भएकाले यसले सामाजिक सद्भावमा ठेस पुगेको बताए ।

टीकापुर घटनालाई राजनीतिक रूपमा हेरिनुपर्ने बताउँदै उनले रेशमलाई जेलमुक्त गराउन पहल गर्ने आश्वासन दिए । उनले भने ‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेरिनुपर्छ र त्यही हिसाबले समाधान हुनुपर्छ, छिटो भन्दा छिटो रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीहरुलाई छुटाउने अभियानमा म आजैदेखि लागिसकेँ’, उनले भने ।

उनले आफू पदमा बहाल नरहँदापनि रिहाइ हुनुपर्नमा जोड दिँदै आएकाे बताए । उनले भने,  ‘यसअघि कुनैपनि पदीय जिम्मेवारीमा थिएन तरपनि मैले यस सन्दर्भमा आवाज उठाउँदै आएको थिए । अब मेरो काँधमा थप जिम्मेवारी थपिएको छ । त्यसैले मैले गर्न सक्ने पहल म गर्छु ।’ शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

रेशम चौधरी रिहाइलाई नै प्रमुख माग र मुद्दा बनाउँदै आएको नागरिक उन्मुक्ति पार्टीले यसअघि मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सरकारलाई विश्वासको मत नदिएपछि सरकार ढलेको थियो । प्रदेशमा निर्णायक शक्ति मानिएको नागरिक उन्मुक्ति पार्टीलाई समर्थनमा लिन मुख्यमन्त्री शाहले छलफललाई अघि बढाएका हुन् ।

प्रदेशमा बहुमत जुटाउन २७ सांसदको समर्थन चाहिन्छ । यसअघि नेकपा एमाले नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो । शाहले शुक्रबार पदभार ग्रहण गर्दै विश्वासको मत पाउने दाबी गरेका छन् । उनले नागरिक उन्मुक्ति, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र एक जना सांसदको समर्थन पाउने आशा राखेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?