स्थायी कमिटी बैठकमा नेता लेखराज भट्टको प्रश्न : भ्रष्ट व्यक्तिलाई किन नियुक्ति गरियो ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनका विषयमा धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैली र सरकारको चर्को आलोचना गरेका छन् । 

बुधवार विहान बसेको बैठमा नेता लेखराज भट्टले सरकारले गरेको नियुक्तिका साथै हालै काठमाडौंमा सम्पन्न एशिया प्यासिफिक समिटमा पार्टी र सरकारको सहभागिता जस्ता विषयमा प्रश्न उठाएका छन् । 

स्थायी कमिटी बैठकमा धारणा राख्ने क्रममा नेता भट्टले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई गरिएको नियुक्तिबारे गम्भीर प्रश्न उठाएका छन् ।

उनले भने, ‘झा भ्रष्ट छविको व्यक्ति हुन् । उनले आफू मन्त्री हुँदाको समय झाले आयल निगममा नियुक्त हुनको लागि घुसको प्रस्ताव गरेका थिए ।’ 

त्यस्तो भ्रष्ट छवि भएका व्यक्तिलाई किन र कुन आधारमा नियुक्ति गरिएको हो त्यसबारे पार्टी र सरकारले जवाफ दिनुपर्ने उनले माग गरे । 

साथै यसको नियन्त्रणका लागि पार्टी र सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताउँदै उनले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याएको प्रतिवेदन पार्टीको हाइट अनुसारको नभएको र यसलाई सच्याउनुपर्नेमा जोड दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?