काठमाडौं । शनिबारबाट शुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुबीच चर्काचर्की चलिरहेको छ ।
राजनीतिक प्रतिवेदनमाथि जारी छलफल तेस्रो बैठक पार्टी केन्द्रीय कार्यालयमा आज (बुधवार) बिहान ८ः२५ बजे शुरु भएर ११ः१० बजेसम्म सञ्चालन भएको थियो ।
बुधवारको बैठकमा भने मुख्यमन्त्री छाड्ने शंकर पोखरेलको चेतावनीमा नेता सुरेन्द्र पाण्डेले टिप्पणी समेत गरेका थिए ।
स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मंगलवारको बैठकमा भने, ‘राजनीतिक जिम्मेवारी छाड्दिन, मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन्छु ।’
आफूले प्रदेशसभामा जान नचाहेको तर, ‘कृष्णबहादुर महरालाई दाङमा उम्मेदवार बनाउनुपर्ने भयो’ भन्दै दुवै अध्यक्षले आग्रह गरेपछि बाध्यताले मात्र गएको उनले भनाइ थियो ।
तर, बुधवार आफ्नो धारणा राख्ने क्रममा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मुख्यमन्त्री पोखरेललाई जवाफ दिएका छन् ।
दुवै अध्यक्षले भनेको भन्दै पोखरेलले ‘साइकोलोजिकल ब्लाकमेलिङ’ गरेर बैठकलाई प्रभावित पार्न खोजेको त होइन भन्नेमा स्थायी कमिटी सदस्य पाण्डेको आशंका थियो ।
आजको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
बैठक भोलि (बिहीवार) बिहान ८ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौंमा शुरु हुने गरी स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया