सुदूरपश्चिममा देउवा र शाही मन्त्री बन्दै

लोकपथ
231
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथग्रहणसँगै मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । बिहीबार प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका शाहले पहिलो चरणमा दुई जनालाई मन्त्री बनाउँदै सानो आकारको मन्त्रिमण्डल गठन गर्न लागेका हुन् ।

आज दिउँसो ३ः३० बजे प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मुख्यमन्त्री शाहसहित अन्य मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारका अनुसार यसबारे औपचारिक निर्णयका लागि कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ । उनका अनुसार नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाट १/१ जना मन्त्री नियुक्त हुन लागेका हुन् ।

जसअनुसार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा प्रकाशबहादुर देउवा र आर्थिक मामिला मन्त्रालयमा नरेशकुमार शाहीलाई नियुक्ति गर्ने तयारी गरिएको छ ।

देउवा कैलाली क्षेत्र नं.५ (ख) बाट नेपाली कांग्रेसको प्रत्यक्षतर्फ निवाचित सांसद हुन् । यस्तै, शाही बाजुरा (क) बाट नेकपा (एकीकृत समाजवादी) को प्रत्यक्षतर्फ निवाचित सांसद हुन् ।

यसअघि नेकपा (एमाले) का तर्फबाट संविधान धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेस प्रदेश संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शाहले पनि नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?