सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल सकियाे

लोकपथ
65
Shares

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी प्रमुख राजनीतिक दलले समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन दलका आबद्ध शीर्ष नेताहरूको बैठकमा समसायिक राजनीतिक विषय, सरकारको काम कारबाही, राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार शीर्ष नेताहरूका बीचमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सहभागिता थियो । फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ । प्रधानमन्त्री दाहाल र उनी अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेका छन् ।

तर सत्ता साझेदार दल नेकपा एमालेले गत पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेको छ । तर, पुस २६ मा प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो। यो परिस्थितिसँगै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने तर्क माओवादीले गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?