महासमिति बैठक तीन दिन लम्बिने, विधान मस्यौदा प्रस्तुत भोलि मात्र

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा विहिबार मात्र विधान मस्यौदा प्रस्तुत हुने भएको छ । 

पदाधिकारीको संख्या र निर्वाचन पद्धतिबारे सहमति जुटिसके पनि केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने भएकाले विहिबार मात्रै महासमितिमा विधान मस्यौदा प्रस्तुत हुने भएको हो ।

पदाधिकारी संख्या र निर्वाचन पद्धतिबारे नेताहरुबीच सहमति जुट्न नसक्दा महासमिति बैठक नै प्रभावित भएको थियो । निरन्तरको छलफलपछि संस्थापन र इतरपक्षबीच पदाधिकारी संख्या ८ राख्ने र कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचन गर्ने सहमति जुटेको छ । 

सहमतिअनुसार सभापति, उपसभापति-२, महामन्त्री-२, सहमहामन्त्री-२ र कोषाध्यक्षसहित केन्द्रीय कार्यसमिति अब १ सय ६१ सदस्यीय हुने भएको छ । कोषाध्यक्ष सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्य संख्याले अनुमोदन गर्ने व्यवस्था राखिएको छ ।

यो सहमतिसँगै महासमितिमा विधान मस्यौदा प्रस्तुत गर्ने बाटो खुलेको हो । महासमितिमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रीय समितिले पारित गर्नुपर्ने प्रावधान छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विधान मस्यौदा समितिले तयार पारेको प्रतिवेदन अनुमोदन गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । खाना समयपछि बस्ने केन्द्रीय समितिको बैठकले विधान अनुमोदन गर्नेछ । 

त्यसपछि प्रेसबाट छापिएर आउँदा समय लाग्ने भएकाले बिहीबार मात्रै महासमितिमा विधान प्रस्तुत हुने प्रवक्ता शर्माले बताए ।

तीन दिन लम्बियो महासमिति
नेताहरूबीचको विवादका कारण विधान प्रस्तुत हुन नसकेपछि महासमिति बैठक तीन दिन लम्बिएको छ  । २९ मंसिरमा उद्घाटन भएको बैठक मंगलबार सक्ने कार्यतालिका थियो । तर पनि अब बैठक शुक्रबारसम्म चल्ने प्रवक्ता शर्माले बताए । 

उनका अनुसार राजनीतिक, सांगठनिक, आर्थिक र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल जारी छ । चार दिनसम्म सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेसमा बन्दसत्र भइरहे पनि बिहीबार र शुक्रबारको बन्दसत्र केन्द्रीय कार्यालयमा गर्ने तयारी छ ।

‘पार्टी प्यालेस बिहीबारदेखि अर्कै संस्थाले बुकिङ गरेको छ, महासमिति तीन दिनसम्म लम्बिने भयो ।’ प्रवक्ता शर्माले भने, ‘बैठक गर्न पार्टी केन्द्रीय कार्यालयमा तयारी भइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?