सुदूरपश्चिममा प्रदेशसभा बैठक ४ बजेलाई सारियो

लोकपथ
130
Shares

धनगढी । आज दिउँसो १ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ । बैठक बिहीबार दिउँसो ४ बजेका लागि सारिएको प्रदेशसभा सचिवालयका सचिव देबबहादुर बोगटीले जानकारी दिए ।

मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेशसभा बैठक बोलाइएको हो । रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बैठक सरेको छ । अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुटेको छैन ।

विश्वासको मत नदिने अडानमा रहेका नागरिक उन्मुक्ति पार्टीका सातै जना प्रदेशसभा सांसद काठमाडौंमै छन् । तर, सहमतिको सम्भावना खोजीका लागि सभामुखले बैठक सारेको बताइएको छ । मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । उनले विश्वासको मत लिन नसकेमा स्वतः पदमुक्त हुन्छन् ।

सभामुखले बैठक सारेकामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ । सर्वदलीय सहमति बिना पटकपटक बैठक सारिएको भन्दै कांग्रेससहितको विपक्षी दलले आपत्ति जनाएका छन् । संसदीय दलका नेता कमल शाहले सभामुख सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् ।

विपक्षी दल नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने दिन बैठक सार्ने परम्परा नरहे पनि सभामुखले सारेको भन्दै असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?