नीर शाहले बोर्डको सल्लाहकार संयोजक पदबाट दिए राजीनामा, यस्तो छ कारण

लोकपथ
117
Shares

अभिनेता नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार संयोजक पदबाट राजीनामा दिएका छन् । आफूले बुधबार राजीनामा दिएको शाहले लोकपथलाई जानकरी दिए ।

कार्यव्यस्तताका कारण समय दिन नसक्ने र, समिति पनि निष्क्रिय बन्दै गएपछि राजीनामा दिएको उनले बताए ।

सल्लाहकार समितिले बोर्डले अबलम्बन गरेका नीतिहरुका बारेमा कसरी अघि बढ्ने भनेर सुझाव दिन्छ । यद्यपि, बोर्डले के गरिरहेको छ भन्ने कुरा सञ्चालक समितिलाई मात्र थाहा हुने तर सल्लाहकार समितिलाई थाहा नहुनेभएपछि आफूले राजीनामा दिएको उनी बताउँछन् । ‘हामीले सल्लाह दिने हो तर कुनै पनि सल्लाहकार समितिलाई निष्क्रिय जस्तै बनाइयो,’ लोकपथसँगको कुराकानीका क्रममा शाहले भने, ‘सल्लाह नै दिन नपर्ने भएपछि यसको उपादेहिता रहेनछ भन्ने लागेर राजीनामा दिएको हुँ ।’

साथै, पछिल्लो समय बोर्डका गतिविधिका बारेमा बाहिर जसरी कुरा आएका छन् त्यसबारेमा आफूहरुलाई केही पनि जानकारी नभएको शाहको दुखेसो छ । ‘सल्लाहकार समिति र बोर्डको बीचमा कम्युनिकेशन ग्याप हुँदै गयो,’ उनले भने, ‘अब हाम्रो केही काम रहेनछ भन्ने लागेर राजीनामा दिएका हौँ ।’

बोर्डका अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।

शाहसँगै सल्लाहकार समितिका संदस्य सुशान्तकुमार श्रेष्ठले पनि राजीनामा दिएका छन् । त्यस्तै, एक साताअघि समितिका सदस्य तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले पनि राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?